सदनमा गृहमन्त्री लामिछानेले भनेको ‘घटालथान’ कता छ ? के छ महिमा ?


काठमाडौं– सहकारी ठगी प्रकरणको आरोप लागेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आइतबार संसदमा जवाफ दिएका छन् । प्रतिनिधिसभा बैठकमा आफूमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा लामिछानेले आफूलाई कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको र त्यो अस्वीकार गरेपछि सहकारीको मुद्दा चर्काएको आरोप लगाएका थिए ।

उनले आफूलाई कांग्रेस सभापति शेरबहादुर देउवाले डेढ वर्षका लागि प्रधानमन्त्री बन्ने अफर दिएको हो कि हैन भनेर घटालथानको कसम खान चुनौति दिएका थिए ।

उनले भनेका थिए,

‘म गृहमन्त्री हुन नैतिक रुपमा नमिल्ने भए । प्रधानमन्त्री बन्न चाँही कुन नैतिकते मिल्ने रहेछ । अफर गर्नेहरुले काम रातो पार्नु पर्दैन । मेरो प्रश्न छ, हिजो मलाई डेढ वर्ष प्रधानमन्त्रीका रुपमा स्विकार गर्ने अफर डेट एस्फाएर भयो कि छँदैछ । त्यसपछि म आफ्नो नैतिकताको परीक्षा दिउँला ।
यो कुराको जवाफ यहि सदनमा उभिएर कांग्रेस सभापति ज्यूले दिनुभयो भने मेरा लागि कल्याण हुनेछ । उहाँले असाध्यै मान्नुहुने घटालथानमा मैले पनि पाइला राख्ने अवसर पाएको छु । त्यहि घटालथानलाई सम्झिए हुन्छ कि मेरा लागि त्यो अफर आएको थियो कि थिएन ।’

उनले दिएको चुनौति पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले स्विकार गर्लान् अथवा नगर्लान् त्यो समयले बताउला तर लामिछानेले भनेको घटालथान कता पर्छ र त्यहाँको महिमा के छ भनेर हामी यहाँ चर्चा गर्दैछौं ।

कांग्रेस सभापतिको गृह जिल्ला डडेल्धुराको अमरगढी नगरपालिका– ३ डोटी घटालमा रहेको ‘घटालथान’ सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ हो ।

बुढीघटालका नामले पनि प्रसिद्ध ‘घटालथान’ पर्यटकीय दृष्टिकोणले पनि संभावना बोकेको क्षेत्र हो । यसलाई यस क्षेत्रको मुख्य धार्मिक शक्तिपीठका रूपमा लिइन्छ ।

सदरमुकाम वागबजारदेखि पश्चिम–दक्षिणतर्फ ५ किलोमिटरको दूरीमा रहेको घटालथानसम्म पुग्न गाडीबाट १५–२० मिनेट र पैदल एक घण्टा समय लाग्छ ।

‘घटालथान’सँगै पश्चिमतर्फ प्यागोडा शैलीमा बनेको असिग्राम मन्दिर पनि रहेको छ । चारैतिर डाँडाले घरेको डोटी घटाल क्षेत्र सम्म परेको डोटी खोला क्षेत्रमा अवस्थित छ ।

डोटी खोलाको बीचमा घटाल बाबाको मूर्ति अवस्थित रहेसँगै ऐतिहासिक ढुङ्गै नौला र ऐतिहासिक हिङलो पिङ पनि रहेकाले घटाल पुग्नेले पिङको आनन्द पनि लिन मिल्छ ।

यस्तो छ किंवदन्ती
किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकेपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको बताइन्छ ।

द्वापरयुगमा कुरुक्षेत्रमा भएको कौरव–पाण्डव युद्धमा भीमपुत्र घटोत्कचले ठूलो पराक्रम देखाएका थिए । उनले कौरव सेनामा धावा बोलेर ठूलो क्षति पु¥याएको धार्मिक ग्रन्थमा उल्लेख छ । लडाइ मैदानमै वीरगति प्राप्त गरेका घटोत्कचको पराक्रम देखेका श्रीकृष्णले उनलाई कलियुगमा ख्याति प्राप्त भगवानका रूपमा मान्यता पाउने वरदान दिएको भनाइ छ ।

सदियौंदेखि त्यही मान्यताअनुरुप घटालबाबालाई यस क्षेत्रका बासिन्दाले ठूलो धार्मिक आस्था र सम्मानका साथ पुज्ने गरेका स्थानीय बताउँछन् ।

देउताको प्रभाव र शक्तिलाई कसैले चुनौती दिए भने मूल धामीले आफूले बालुवा खानुका साथै अरू धामीलाई पनि बालुवा खुवाएर शक्ति देखाउने गर्छन् । स्थानीयवासीहरू धामीले निहुरिएर मुखभरी बालुवा लिएर खाने गरेको विश्वास गर्छन् ।

धामीहरूले पहिले पहिले ६० घडा बालुवा र ६० घडा पानी खाने गर्थे भन्ने किंवदन्ती रहेको र अहिले पनि धामीले ७–८ मुठीजति बालुवा र पानी घुटुघुटु खाने गरेको स्थानीय रूपमा प्रचलित छ ।

मुखभरीको बालुवा पानीसँगै घुटुघुटु निल्दा पनि दैवी शक्तिकै कारण कुनै स्वास्थ्य समस्या नदेखिएको धामीहरूले दाबी गर्ने गर्छन् । आफ्नो मनोकामना पूरा भएकाहरूले यहाँ बोकाको बलि दिन्छन् ।

पश्चिमी क्षेत्रमा आस्तिकहरूमाझ घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहेको पाइन्छ । खडेरी परेको वर्ष स्थानीयवासीले ‘पानी देऊ’ भन्ने नारा लगाउँदै खोलाको पानी लगेर घटालशिलाको प्वालमा पानी हाल्छन् र वर्षाको कामना गर्छन् ।

घटालमा मेला
हरेक वर्ष २ वैशाख, वडा दसैं र कात्तिक शुक्ल चतुर्दशीमा यहाँ मेला लाग्ने गर्छ । यी मेलाहरू वैशाख, असोज र कात्तिक महिनामा लाग्छन् । यी जात्रामध्ये १ वैशाखमा घटालको सम्पति (देउरो) असिग्राम मन्दिरमा लगेर पूजा गर्ने, २ वैशाखमा देउरोलाई घटालथानमा ल्याएपछि भव्य मेला लाग्छ । श्रद्धालु भक्तजनहरू यी शक्ति सम्पन्न देवताप्रति अपार श्रद्धा र भक्ति प्रकट गर्छन् ।

घटालको गरगहना चम्साल भन्ने गाउँमा राखिने तथा त्यहाँका बासिन्दा भरिया हुने व्यवस्था छ । पूजाको दिनमा देउरोको साथमा धामी झाँक्रीहरू नाचेर बाजागाजाका साथ घटालस्थलमा पूजा सामग्री लगेर पूजा तथा जात्रा सिध्याएपछि पुनः भण्डारमा फिर्ता ल्याउने परम्परा छ ।

अहिले घटालथानमा सुदूरपश्चिमका विभिन्न जिल्लाका विद्यार्थीहरू अवलोकनका साथै यस क्षेत्रमा वनभोज खानका लागि आउने गरेका छन् । सुदूरपश्चिमका विभिन्न जिल्लाका विद्यार्थी तथा बाह्य जिल्लाका र विदेशबाट गरी दैनिक ३०–४० जनाको संख्यामा ‘घटालथान’मा पर्यटकहरू आउने गरेका घटाल क्षेत्र विकास समाजका अध्यक्ष कृष्णराज बोहराले बताए ।

 

 

प्रतिक्रिया