काठमाडौंमा महिलाहरूले लगाएको सुन लुटपाट गर्ने दुई पक्राउ


काठमाडौं- नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट मौलापुर नगरपालिका–४ का १९ वर्षीय सरोजकुमार शाह र सोही स्थानका २० वर्षीय राधेश्याम शाह रहेका छन् ।

बूढानीलकण्ठ नगरपालिका–२ विएमसी स्कुल र माथिल्लो भङ्गाल क्षेत्रमा महिलाले लगाएको गहना लुटपाटमा संलग्न उनीहरू आइतबार बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ परेका हुन् ।

विएमसी स्कुल नजिक ७५ वर्षीया शारदा थापाको एक तोला ९२ लाल सुन लुटपाटमा सरोजकुमार र माथिल्लो भङ्गालमा सुमित्रा श्रेष्ठको सुन लुटपाटमा संलग्न राधेश्यामलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले  जानकारी दिए ।

पक्राउ परेका दुवैजनालाई चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया