

इन्जिनियरिङ छाडेका रिसभ काफ्ले कमेडी क्षेत्रमा चम्किँदै
भन्छन्- जीवनमा दुःखी हुनेहरु नै कमेडियन बन्छन्

काठमाडाैं- यतिबेला नेपालको एकमात्र कमेडी शो ‘कमेडी च्याम्पियन सिजन–३’ को चर्चा जताततै चलिरहेको छ । अघिल्ला सिजनहरुमा भन्दा यसको लोकप्रियता केही खस्किएता पनि अहिलेका प्रतिस्पर्धी भने अब्बल देखिन्छन् ।
समाजमा घटिरहेका तर नदेखिएका स–साना विषयवस्तुलाई राम्रोसँग चिरफार गरी कमेडीका पन्चहरु जोडर फरक तरिकाले प्रस्तुत गर्नु नै उनीहरुको मुख्य विशेषता देखिएको छ । शिर्ष १० को प्रतिस्पर्धा हेर्ने हो भने उनीहरुको प्रस्तुतिले यो कुरालाई पुष्टि गर्छ ।
यस्तै फरक विशेषता भएका कमेडियन हुन् रिशभ काफ्ले । उनी ‘कमेडी च्याम्पियन सिजन–३’ का एक अब्बल कमेडियन मानिन्छन् । शिर्ष १० मा प्रतिस्पर्धा गरिरहेका उनी आम मानिसको ‘ह्यूमर सेन्स’ राम्रोसँग पढ्न जान्दछन् । समाजमा जो कोहीले भोगिरहेका नदेखिएका तर सम्झन लायक घटनाका फरक–फरक टुक्काहरु जोडर एउटा पूर्ण दृश्य निमार्ण गर्न अब्बल उनी त्यसको प्रस्तुतिकरणमा पनि निकै ध्यान दिन्छन् । जजहरुले पनि उनको प्रस्तुतीकरणलाई उनको शक्ति भएको र त्यसलाई उनले निरन्तरता दिनुपर्ने बताउँदै आएका छन् ।
सुनसरीको दुहवी नगरपालिका–५ का काफ्ले अन्र्तमुखी स्वभावका व्यक्ति हुन् । सानैदेखि लजालु स्वभावका उनी कमेडीमै नै भविष्यमा आफ्नो प्रोफेशन बन्ला भन्ने नसोचेको बताउँछन् । ‘हसाउन सकिन्छ कि जस्तो लाग्यो । इङलिस तथा भारतीयहरुको कमेडी हेर्दाहेर्दै सुरु गरेँ’ कागजपत्रसँगको कुराकानीमा उनले भने ।
सुरुसुरुमा राम्रै भएको उनको कमेडी यात्रालाई कोभिडको कहरले भने ठूलै ठेस पुर्याएको थियो । कोभिड अघि काठमाडौँमै बसेर ‘स्टयान्डअप’ कमेडी गरिरहेका उनी कोभिडको कहरले सपनाको सहर छोडेर गाउँ फर्किन् बाध्य भएका थिए ।
त्यसपछि उनी भौँतारिँदै बिराटनगर पुगे तर त्यहाँ उनको यात्रा सोचेजस्तो हुन सकेन । कमेडी यात्राअघि बढाउन निकै गाह्रो भएपछि उनले फेरि काठमाडौँ नै हानिने सोच बनाए । काठमाडौँ र बिराटनगरको यो ओहोरदोहोरबीच लगभग पाँच वर्षजति उनले हास्यव्यङ्य क्षेत्रमा निकै दुःख गरेका थिए । तैपनि सोचेजस्तो केही भइरहेको थिएन । सुरुमा राम्रो भइरहेको यात्रामा अनेक उतारचढाव आइदिँदा उनी झनै निराश भइरहेका थिए । तर, हिम्मत भने हारिसकेका थिएनन् ।
उसो त उनी इन्जिनियरिङका विद्यार्थी हुन् । कमेडीको यात्रालाई अघि बढाउँदै गर्दा इन्जिनियरिङलाई सँगै अघि बढाउन नसकेपछि उनी इन्जिनियरिङबाट आफू ‘ड्रपआउट’ भएको बताउँछन् । उनको बिराटनगरबाट पुनः काठमाडौँ आउनुको मुख्य उद्देश्य भने ‘कमेडी च्याम्पियन सिजन–३’ नै थियो ।
आफूले सोचेअनुसार भइरहँदा यसपटक भने उनी निकै हर्षित छन् । कमेडियनहरुको पर्सनालिटी त बाल्यकालदेखि नै त्यस्तै हुन्छ, यहाँको कस्तो थियो ? भन्ने प्रश्नमा उनी हाँस्दै भन्छन्, ‘जो जीवनमा दुःखी हुन्छन् तिनै कमेडियन बन्छन् र जो आफ्नो जीवनमा सुखी हुन्छन् उनीहरु कमेडियन बन्दैनन् ।’
उनी पहिलेदेखि आफू एक्लै बस्न रुचाउने गरेको अनुभव सुनाउँछन् । ‘मेरा साथीभाई दाइहरु एकदमै रोमान्टिक हुनुहुन्थ्यो । म एक्लै कोठामा बसिरहन्थेँ । अहिले उहाँहरु मलाई देखेर छक्क पर्नुहुन्छ’ उनले सम्झे ।
उमेरले २९ मात्रै पुगेका काफ्ले च्याम्पियनमा एकदमै रुचाइएका कमेडियन हुन् । जजहरुले त उनलाई च्याम्पियनका सान भनेर पटक–पटक भन्दै आइरहेका छन् । यो त उनले बारम्बार पाइरहेका ‘गोल्डेन भोट’ले पनि पुष्टि गर्ने कुरा हो । उनको प्रस्तुतिमा एउटा परिवारमा घट्ने घट्नाहरु, समाजको परिस्थिति, आम मानिसको सोचाई र भोगाईलाई एकदमै मसिनो गरी केलाइएको पाइन्छ ।
आम मानिसको भोगाई र सोचाईलाई समेट्न पहिला राम्रोसँग अध्ययन गर्नुपर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘म घरमा केही विशेष कार्य हुँदा वा दसैँको बेलामा घरका सदस्यहरु काकाकाकी, दाईभाई, बुवाआमाको भूमिका कस्तो रह्यो भन्नेकुरा राम्रोसँग अवलोकन गर्छु । र, बेलुका त्यसैलाई विषय बनाएर प्रस्तुति दिन्छु ।’ उनले एक कुरा गरिरहँदा दिमागमा त्यसले दशवटा अन्य पाटोहरु खुलाउने भन्दै जज प्रदिप भट्टराईले एक एपिसोडमा खुलेरै उनको गुनगान गाएका थिए ।
नेपालमा कमेडीका नयाँ–नयाँ कार्यक्रमहरु आइरहँदा यसको लागि कमेडियनले उचित स्थान पाउन नसकेको गुनासो त सुनिँदै आएको छ । स्थापित कमेडियनहरु पनि गायन क्षेत्रजस्तो कमेडी विकसित हुन नसकेकोमा चिन्ता व्यक्त गर्छन् । तर काफ्ले भने यो कुरामा अलि फरक मत राख्छन् । उनी नेपालमा कमेडीको ‘स्कोप’ विगतमा पनि राम्रो रहेको र आगामी दिनहरुका पनि अझै राम्रो हुने विश्वास व्यक्त गर्छन् ।
उनी भन्छन्, ‘विगतका दिनहरुमा विभिन्न कमेडी टेलिसिरियलहरु एकदमै चर्चित थिए । हाल कमेडी फिल्महरु चर्चामा छन् र भोलिका दिनमा अझै राम्रो हुँदै जाने विश्वास छ ।’
उनले कोरोना महामारीका कारण उक्त क्षेत्रमा केही असर परेको बताए । ‘कोरोनाले केही समय रोकेको थियो । बिस्तारै गति लिँदै छ । नयाँ–नयाँ कार्यक्रम पनि बढ्दो संख्यामा छन्, म यसप्रति पोजेटिभ छु’ उनले भने ।
उनी कमेडियनहरुले समाजप्रति जिम्मेवार बन्नुपर्ने सुझाव दिन्छन् । अश्लिल पन्च मात्रै हानेर त्यो जिम्मेवारी पुरा नहुने उनको तर्क छ । ‘छाडापना भन्दा समाजका राम्रा कुराहरु टिपेर कमेडी गर्दा समाजलाई पनि फाइदा हुन्छ र हामीले पनि कमेडी सँगै राम्रो समाजको निर्माण गर्न सक्छौँ’ उनले भने ।

