

तथ्यांकमा इलाम-२ः वैशाख-१५ मा कस्ले मार्ला बाजी ?

काठमाडाैं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाएसँगै इलाम क्षेत्र नं. २ का लागि ठूला दलको उम्मेदवारी घोषणा सकिएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनको केन्द्रविन्दुमा अहिले इलाम रहेको छ ।
नेपाली कांग्रेसले यसअघिकै उम्मेदवार डम्बरबहादुर खड्कालाई निरन्तरता दिएसँगै इलाम–२ मा प्रमुख प्रतिस्पर्धीहरुको टुंगो लागेको हो ।
संघीय सरकारका सत्ता गठबन्धनका दलहरुले आ–आफ्ना उम्मेदवार उठाउने घोषणा गरेसँगै इलामको उपनिर्वाचन रोचक बन्ने देखिएको छ । यदि सत्ता साझेदारहरुको स्वार्थरहित गठबन्धन इलाममा पनि भइदिएको भए यसपटक अन्य दलहरुले उम्मेदवार नै नउठाइदिएको भए पनि हुने तथ्यांक देखिएको छ । तर, एउटा गठबन्धनलाई तोडेर अर्को गठबन्धन गराएका गठबन्धनकै दलहरुले गठबन्धनप्रति कति विश्वस्त छन् भने इलामको निर्वाचनले पुष्टी गरेको छ । सत्ता गठबन्धनका दलहरु, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले आ–आफ्नै उम्मेदवार घोषणा गर्नु गठबन्धनभित्रको संशय हो ।
गत आम निर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुवास नेम्बाङसँग झिनो ११४ मतले पराजित भएका खड्काले यसपटक टिकट लिनका लागि ठुलै संघर्ष गर्नुपरेको कांग्रेसले उम्मेदवार चयनमा गरेको ढिलाईले नै पुष्टी हुन्छ । गत आम निर्वाचनमा नेकपा एमालेका नेम्बाङले ३००२० मत ल्याएका थिए भने डम्बरले २९९०६ मत ल्याएका थिए । उक्त निर्वाचनमा देशैभर नेपाली कांग्रेस र नेकपा माओवादीबीच गठबन्धन रहेको थियो । गत निर्वाचनमा प्रत्यक्षतर्फ इलाम–२ मा रास्वपाका उम्मेदवार प्रकाश सापकोटाले १३८० मत ल्याएका थिए ।
कुनै पनि राजनीतिक दलको आधार मत मानिएको समानुपातिक मतअनुसार गत निर्वाचनमा इलाम–२ मा नेकपा एमाले बहुमतकै अवस्थामा छ । एमालेले २६,५६२ मत ल्याउँदा, नेपाली कांग्रेसले २२,३३३ मत ल्याएको थियो । त्यस्तै माओवादी केन्द्रले समानुपातिकमा ५,१५३ मत ल्याउँदा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले भने ४,६८६ मत ल्याएको थियो । यस तथ्यांकलाई हेर्दा अहिलेको सत्ता गठबन्धन इलाम–२ मा पनि गठबन्धन गरेको भए प्रत्यक्षमा २२ हजारका बदला ३६ हजार बढी मत ल्याउने देखिएको छ ।
इलाम–२ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सुवासचन्द्र नेम्बाङको निधनसँगै रिक्त रहेको उक्त क्षेत्रमा अहिले चुनावी सरगर्मी बढ्दै गइरहेको छ । नेकपा एमालेले उनै सुवास नेम्बाङका कान्छा छोरालाई चुनावी मैदानमा उभ्याएको छ भने नेपाली कांग्रेसले अघिल्लो चुनावमा पराजित भएका डम्बर खड्कालाई फेरि उभ्याएको छ ।
त्यसबाहेक इलाम–२ मा गत आम निर्वाचनदेखि नयाँशक्तिको रुपमा उदाएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रविकै पूर्वसहकर्मी मिलन लिम्बुलाई चुनावी मैदानमा पठाएको छ । नेकपा माओवादी समर्थित पत्रकारहरुको संस्था प्रेस सेन्टर समर्थित लिम्बुले स्वतन्त्र उम्मेदवारका तर्फबाट उम्मेदवारी घोषणा गरिसकेपछि रास्वपा अध्यक्ष लामिछानेले आफ्नो पार्टीबाट उम्मेदवार बनाएको घोषणा गरेका हुन् । त्यसबाहेक एकीकृत समाजवादीले पनि उम्मेदवारको घोषणा गरिसकेको छ । एकीकृत समाजवादीले जितबहादुर राईलाई उम्मेदवार बनाएको छ ।
प्रदेशको नामाकरणका लागि ठूलो आन्दोलन गरेको पहिचानवादीका तर्फबाट डकेन्द्रसिं थेगिमले स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका छन् । उनलाई जनता समाजवादी पार्टीले सघाउने जनाइसकेका छन् । पहिचानको मुद्दा उठाउँदै उम्मेदवारी घोषणा गरेका थेगिमलाई पहिचानवादी संघ संस्थाहरुको समर्थन रहनेछ ।
इलामका ६ स्थानीय तह समेटिएको क्षेत्र नं. २ मा इलाम नगरपालिकाका १२ मध्ये ११ वटा पर्दछ भने माई नगरपालिकाका ३ वटा वडा पर्दछ । त्यसबाहेक फाकफोकथुम गाउँपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका, चुलाचुली गाउँपालिका पनि क्षेत्र नं. २ मा पर्दछ । स्थानीय तहमा इलाम नगरपालिका र चुलाचुलीमा नेपाली कांग्रेसले प्रमुख जितेको छ भने माङसेबुङ, देउमाई र फाकफोकथुममा नेकपा एमालेले स्थानीय तह प्रमुख जितेको छ । त्यस्तै अर्को स्थानीय तह माइ नगरपालिकाका तीन वटै वडामा नेकपा एमालेले जित हात पारेको छ । तर, समग्रमा स्थानीय तह प्रमुखका उम्मेदवारहरुले ल्याएको मतमा भने नेपाली कांग्रेसका उम्मेदवारहरुले ३७,३७५ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवारहरुले ३४,४२६ मत ल्याएका छन् ।
सबैभन्दा धेरै मतदाता रहेको इलाम नगरपालिका र गाउँपालिकामध्ये चुलाचुलीमा नेपाली कांग्रेस स्पष्ट रुपमा अघि रहेको छ भने अन्य स्थानीय तहमा थोरै मतले पछाडि रहेको देखिएको छ ।
गत आम निर्वाचनमा भन्दा यसपटक इलाम क्षेत्र नं. २ मा ४२२ नयाँ मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ । त्यससँगै अहिले इलाममा १ लाख १५ हजार ४६७ मतदाता रहेको पनि आयोगले जनाएको छ ।
कस्को कस्तो छ अवस्था ?
डम्बर खड्का
गत आम निर्वाचनमा नेकपा एमालेका सुवासचन्द्र नेम्बाङसँग झिनो मतान्तरले पराजित भएका खड्का यसपटकका लागि इलामका सबैभन्दा बलिया उम्मेदवार हुन् । निर्वाचनमा झिनो मतान्तरले पराजित भए पनि जिल्लाको विकासमा निरन्तर खटिरहने खड्काको उक्त कार्यलाई इलामबासीले यसपटक न्याय दिने उनले विश्वास लिएका छन् । त्यसबाहेक संस्कृति र पहिचानको नाराले ओतप्रोत रहेको इलाममा यसपटक अन्य दलबाट लिम्बुहरु नै मात्रै उम्मेदवार रहँदा अन्य सबै उम्मेदवारलाई मत बाँडिँदा खड्काले बाजी मार्न सक्नेछन् । निरन्तर जिल्लामा रहेर जनतासँग प्रत्यक्ष जोडिने गरेका खड्का यसपटक बाबुसँग ब्यहोरेको हार छोरालाई चखाउने सुरमा देखिन्छन् ।
सुहाङ नेम्बाङ
नेपालको पछिल्लो राजनीतिक इतिहासमै सबैभन्दा भद्र एवं शालीन नेता सुवासचन्द्र नेम्बाङका उत्तराधिकारीसमेत रहेका सुहाङ राजनीतिमा छिर्नुभन्दा अगाडि कानुन व्यवसायमा समेत थिए । इलामका भए पनि अध्ययन र पेशाका क्रममा राजधानीलाई मुख्य थलो बनाएर बसेका सुहाङ पछिल्लो समय इलाममा एउटा फुटबल क्लब सञ्चालन गरेर जिल्लासँग नजिक हुने प्रयासमा थिए । सोही बेलामा पिताको असामयिक निधनपछि बाध्यताबस राजनीतिमा होमिएका सुहाङ प्रमुख प्रतिस्पर्धी नै हुन् । २०५६ सालदेखि एकछत्र राज जमाइरहेका बाबु नेम्बाङका कान्छा छोरा सुहाङले यसपटकको निर्वाचनमा पनि जित हात पार्ने निश्चित नै रहेको बताइन्छ । उनलाई केही जनताले सहानुभूतिको मत पनि जानसक्ने भएकोले त्यसको फाइदा लिने पनि बताइन्छ । सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले सुहाङलाई समर्थन गर्ने निर्णयसँगै सुहाङ थप बलियो हुने आंकलन पनि गर्न सकिन्छ ।
मिलन लिम्बु
नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बु पछिल्लो समय इलामका बलिया प्रतिस्पर्धी हुन् । रवि लामिछाने दल रास्वपाले वैशाख १५ को उपनिर्वाचनपछि संसद्मा २२ जनाको प्रतिनिधित्व हुने घोषणा गरिसकेको अवस्थाका लिम्बु पत्रकारिता क्षेत्रबाट राजनीतिमा हाम फालेका युवा उम्मेदवार हुन् । गत आम निर्वाचनबाट एकाएक राष्ट्रको निर्णायक तहमा पुगेको रास्वपाको तर्फबाट उम्मेदवारी दिनु लिम्बुका लागि अर्को सफलता पनि हो । स्वतन्त्र रुपमै उम्मेदवारी दिने घोषणा गरिसकेका लिम्बुलाई रास्वपाले आफ्नो उम्मेदवार बनाउनु उनको बलियो आधार नै हो । पछिल्लो पटकको निर्वाचनमा परिवर्तनको चाह देखिएको नेपाली जनताबाट सबैभन्दा धेरै सफलता हात पारेको रास्वपाबाट उम्मेदवारी दिएको हुनाले मिलनले यसपटक पार्टीको आशालाई पूरा गर्दै २२ औं सांसदको रुपमा संसद् प्रवेश नगर्लान् भन्न सकिँदैन । लिम्बुको पूर्व दल माओवादी केन्द्र आफूले उम्मेदवार नउठाउने घोषणा गरेसँगै माओवादीको भोट मिलनले तान्ने देखिएको छ ।
डकेन्द्रसिंह थेगिम
प्रदेशको नामाकरणका लागि पहिचानको मुद्दा उठाउँदै आएका थेगिम अन्य उम्मेदवारको तुलनामा उमेरले ‘पाका’ उम्मेदवार मानिन्छन् । विभिन्न पहिचानवादी संघ संस्थाको समर्थनबाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थेगिमलाई चर्चित स्वतन्त्र मेयर हर्क साम्पाङको समेत समर्थन रहेको छ । साम्पाङले इलाम नै गएर थेगिमप्रति जनतासँग मत माग्ने जनाएपछि सहजै हार भन्ने मान्ने अवस्था देखिँदैन । उनलाई जसपाले पनि साथ दिने जनाइसकेको अवस्थामा प्रतिस्पर्धा थप रोचक बन्न सक्ने देखिएको छ ।
त्यसबाहेक अहिलेसम्म उपनिर्वाचनका लागि एकीकृत समाजवादीले जितबहादुर राईलाई उम्मेदवार बनाउने जनाइसकेको छ ।

