अभिनेत्री निशाले जितिन् अंश पाउने मुद्दा
काठमाडौं – अभिनेत्री निशा अधिकारी र पूर्वक्रिकेटर शरद भेषवाकरबीचको मुद्दामा काठमाडौं जिल्ला अदालतले निशाले अंश पाउने फैसला सुनाएको छ ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार सगोलको सम्पत्तिको तीन भागको एक भाग निशाले पाउने फैसला गरेको हो ।
निशा र शरदको बच्चाको उमेर १८ वर्ष नहुँदासम्म आमाबाबु दुवैको संरक्षणमा हुनुपर्ने फैसला पनि अदालतले सुनाएको छ । अंश नपाउँदासम्म मानाचामल बापत बादीहरु (निशा र बच्चा)ले शरदबाट मासिक ४१ हजार रुपैयाँ पाउने ठहरसमेत अदालतले गरेको छ ।
तर नाता सम्बन्ध र अंशियारमा उनीहरुबीच विवाद देखिएको छैन । सूचना अधिकारी पन्थीका अनुसार शरदले माथिल्लो अदालतमा फैसलालाई लिएर पुनरावेदन गर्न पाउनेछन् ।
न्यायाधीश शिशिरराज ढकालको इजलासले मंसिर २८ मा यस्तो फैसला सुनाएको हो । फैसला प्रमाणीकरण चाहिं माघ १९ मा भएको थियो ।