ओलीले यसरी मूलधारतिर मोडिदिए हिंसा र पृथकतावादी राजनीति


काठमाडौं– सरकार गठन भएको एक बर्षका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक आन्दोलनमा रहेको नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहमाथि प्रतिबन्धको घोषणा गरिदिए।

त्यसको दुई बर्षपछि भने प्रतिबन्ध फुकुवा गर्ने मात्र होइन, शान्तिपूर्ण राजनीतिमार्फत मूलधारतिर विप्लवको बाटो मोडिदिए। विहीबार बालुवाटारमा तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै उक्त समूह मूलधारको राजनीतिमा आउने भएको छ।

बाँकी सहमति र सहकार्यका विषयमा शुक्रबार राष्ट्रिय सभा गृहमा प्रधानमन्त्री ओली र विप्लवले गर्ने संयुक्त सम्बोधनसँगै खुलासा हुनेछन्। कतिपयले ओली र विप्लवको पार्टी एकीकरण हुने लख समेत काटेका छन्। यो विषयमा औपचारिक पुष्टि भने हुन सकेको छैन।

तर शान्तिपूर्ण राजनीतिमा विप्लवको बाटो मोडिनुलाई राजनीतिको सुखद समय रहेको विश्लेषण गरिन थालेको छ। विप्लवका पक्राउ परेका कार्यकर्ता, मुद्दा लगाइएका राजनीतिक व्यक्तित्वहरू रिहा हुने पक्कापक्की भएको छ।

गृह मन्त्रालयले नेपाल प्रहरीलगायतका सुरक्षा निकायलाई विप्लव समूहका कार्यकर्तामाथि धरपकड नगर्नका लागि निर्देशन जारी गरिसकेको छ। यसलाई ओली सरकारको उपलब्धिका रुपमा व्याख्या गरिएको छ।

‘अरुले गर्न नसकेको सहमति सरकारले गरेर देखाएको छ। जहाँ जसको पहल भए पनि यसको जस सरकारको नेतृत्व गरेका कारण ओलीलाई नै जान्छ’, उच्च स्रोतले भन्यो।

यति मात्र होइन हिंसाको बाटोबाट विप्लवको राजनीतिलाई शान्तिको बाटोमा ल्याउनुअघि मधेश अलग देशको अभियान चलाएका डा. सिके राउतलाई पनि ओली नेतृत्वको सरकारले नै सहमतिका आधारमा मूलधारमा ल्याएको थियो।

राउत र विप्पलव समूहसँग सहमतिको समानता छ। सरकारले जेलमा रहेका दुवै पक्षका नेतासँग मिहिन र गहिरो वार्ता गरेको थियो।

जेलमा रहेका राउतसँग सरकारी प्रतिनिधिको बारम्बारको वार्ता भयो। दुवैबीचको सहमतिको विन्दु बन्यो ‘मुलुकलाई स्वाधिन र समताको आधार’मा अघि बढाउने। र, जेलबाट सिधै राष्ट्रिय सभामा राउत र सरकारबीच सहमति भयो।

प्रधानमन्त्री ओलीको अगाडि भएको सहमतिसँगै राउतको राजनीति मूलधारतिर मोडियो। अहिले जनमत पार्टीको संयोजकका रुपमा तराई मधेसलाई केन्द्रमा राखेर राजनीतिक अभियानमा सक्रिय छन्, राउत।

उनी भन्छन्,‘राजनीतिज्ञमा इमान्दारीता भएन। हामीले प्रणाली खराब भयो भन्यौं। तर सबै प्रणाली परिक्षण पनि गरिसकेका छौं। खराबी त राजनीतिमा रहेछ, हरेक प्रणाली असफल भएको पाइएन र?’

अहिलेको तरल अवस्थामा पुष्पकमल दाहाल प्रचण्डको समूहले हिंसात्मक बाटोको वकालत गरिरहेका बेला हिंसामा र पृथकताको विषयमा नै अभियान चलाएकालाई मूलधारमा ल्याएर ओलीले शान्तिपूर्ण राजनीतिको अर्थ खुलाएको बताइन्छ। यसमा ओलीको प्रशंशा मात्र गर्न सकिने कतिपयले विश्लेषण गरेका छन्।

वार्ता समिति गठन भएको दुई दिनमा नै परिणाम आउनेगरी भएको सहमतिको गहिरो अर्थ पनि रहेको बुझिएको छ।

प्रतिक्रिया