

१० करोडभन्दा बढी ठगी गर्ने लामा शंखमुलबाट पक्राउ

काठमाडौं- १० करोडभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको कोन्जोसोम गाउँपालिका–१ बस्ने ४७ वर्षीय लाल बहादुर लामा रहेका छन् ।
उनले श्री स्टार ट्रेनिङ सेन्टरमार्फत धेरै बेरोजगार युवाहरुलाई ठगेको उजुरीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शंखमुलबाट पक्राउ गरेको हो ।
उनले वैदेशिक रोजगारीको विभिन्न देशहरु मा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेका थिए ।
अनुसन्धानमा क्रममा उनले आफ्नो मेनपावरमार्फत बेरोजगार युवाहरुबाट ५ लाख देखि १५ लाख सम्म लिने गरेको पाइएको प्रहरीले जनाएको छ । उनले १० करोडभन्दा बढी रकम उठाएको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
लामाको ट्रेनिङ सेन्टरबाट ९९७ थान राहदानी समेत बरामद भएको छ ।

