रूसी सेनामा पठाउने ४ जनाविरूद्ध मुद्दा दर्ता


काठमाडौं – रुसी सेनामा भर्ना हुन पठाएको आरोपमा ४ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा पठाएको फाइलअनुसार काठमाडौं जिल्ला अदालतमा चार जनाविरुद्ध मुद्दा दायर गरिएको हो।

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–६ घर भई काठमाडौं गोकर्णेश्वर बस्दै आएकी २५ वर्षीया सुजता दाहाल, सुजताका श्रीमान् तथा एप्पल एजुकेशन कन्सल्टेन्सी र युजिन मल्टिपर्पोज कन्सल्टेन्सीका सञ्चालक सुमनकुमार लिम्बू, कन्सल्टेन्सीका कर्मचारी तथा बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ सिमरा घर भएका २४ वर्षीय सन्तोष नेपाल र अर्का कर्मचारी नवलपरासीको बर्दघाट नगरपालिका–१० का २१ वर्षीय दीपेश अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ।

उनीहरूविरुद्ध २ वटा फरक–फरक ठगीका मुद्दा दायर भएका छन्। यो समूहले नेपालीहरुलाई भिजिट भिसामा दुबई पुर्‍याउने र त्यहाँबाट रुस पुर्‍याएर रुसी सेनामा भर्ना गराउने गरेको प्रहरीले जनाएको छ।

यस्तै, काठमाडौंबाट भारत लगेर त्यहाँबाट तेस्रो मुलुक हुँदै पनि रुस पुर्‍याएर रुसी सेनामा भर्ना गराउने गरेको पाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया