टेकनाथ रिजालले बुझाए १५ लाख धरौटी, कहिले छुट्छन् ?


काठमाडौँ : भुटानी शरणार्थी नेता टेकनाथ रिजालले  काठमाडौं जिल्ला अदालतमा धरौटी रकम बुझाएका छन् । उच्च अदालत पाटनको आदेशानुसार काठमाडौं जिल्ला अदालतमा १५ लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाए पनि सम्पत्ति शुद्धिकरण विभागमा बयान दिन नपाउँदा रिजाल जेलमै पुगेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा जेठ ४ गते पक्राउ परेका रिजाललाई मंसिर १५ गते उच्च अदालत पाटनले १५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको थियो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले मङ्सिर १५ मा तोकेको धरौटी रिजालले जिल्ला अदालतमा हिजाे मात्रै बुझाएका हुन् ।

जिल्ला अदालतबाट विभागमा वयान दिन गए पनि आइतबार कार्यालय बन्द भएकाले रिजाल रिहा हुन सकेनन् ।

रिजाललाई अब पुस ११ गते विभागमा वयानका लागि उपस्थित गराइने केन्द्रीय कारागार प्रशासन जगन्नाथदेवल सुन्धाराले जनाएको छ । रिजालसँग अब विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिनेछ।

सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले उनी बुधबार छुट्न लागेका हुन् । रिजाललाई गत असार १ गते अन्य अभियुक्तहरूसँगै केन्द्रीय कारागार लगिएको थियो ।

प्रतिक्रिया