राष्ट्रिय सभा निर्वाचनः टिकट हत्याउन कांग्रेसमा दौडधूप, कसको सम्भावना कति ?


काठमाडौं – मुलुकले माघ ११ गते राष्ट्रिय सभाका २० नयाँ सांसद पाउँदैछ । ती मध्ये १ जना राष्ट्रपतिबाट मनोनित हुन्छन् भने बाँकी १९ जना निर्वाचनबाट निर्वाचित हुने व्यवस्था रहेको छ । त्यसका लागि निर्वाचन आयोगले निर्वाचन तालिका प्रकाशित गरिसकेको छ । सोअनुरुप पुस २३ गते उम्मेदवारको मनोनयन दर्ताको समय तोकेको छ ।

राष्ट्रिय सभामा उम्मेदवारका लागि राजनीतिक दलहरुका नेताहरुको दौडधूप सुरु भएको छ । यसपटक राष्ट्रिय सभामा सत्तारुढ दल नेपाली कांग्रेसले सबैभन्दा धेरै सिट पाउने निश्चित छ । सत्ता गठबन्धनको समीकरणमा कांग्रेसले २० सिटमध्ये कम्तीमा ८ सिट र बढीमा ९ सिट पाउने देखिन्छ । त्यसका लागि कांग्रेसका नेताहरु दौडधूपमा देखिएका छन् ।

कांग्रेसले सात प्रदेशबाट एक÷एक जना उम्मेदवार बनाउँछ । यसपटक कांग्रेसबाट राष्ट्रिय सभा निर्वाचनका लागि गत आम निर्वाचनमा पराजित भएकादेखि टिकट नपाएका नेताहरुले दौडधूप सुरु गरिसकेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई टिकट मिलाउनका ठूलो समस्या परेको देखिएको छ । संस्थापक इतर समूहले बुधबार एक कार्यक्रम गरेर राष्ट्रिय सभामा आफ्नो पक्षका लागि दाबी गरिरहेको बेला सभापति देउवाले पनि आफूनिकटहरुको सूची बनाइरहेको जनाइन्छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि गत निर्वाचनमा पराजय ब्यहोरेका कृष्ण प्रसाद सिटौलाले पनि चाहना देखाएको जनाइएको छ । उनले चाहना राखेपछि सभापति देउवाले उनलाई उम्मेदवार बनाउने टुंगो लगाइसकेका छन् । त्यस्तै अर्का शीर्ष नेता गोपालमान श्रेष्ठ पनि राष्ट्रिय सभा उम्मेदवार बन्ने निश्चित प्रायः छ ।

त्यसबाट कलाकार नीर शाह पनि राष्ट्रिय सभाको उम्मेदवार बन्ने सम्भावना देखिएको छ । त्यसबाहेक व्यापारिक पृष्ठभूमिका अनिल रुंगटालाई पनि मधेश प्रदेशको प्रतिनिधित्व गर्ने गरि उम्मेदवार बनाउने देउवाले संकेत गरिसकेका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशबाट भरत शाहको सम्भावना बलियो रहे पनि वैदेशिक रोजगार व्यवसायी कृष्णकिशोर घिमिरेले पनि दाबी गरेबाट कसले बाजी मार्ने हो त्यो निश्चित भइसकेको छैन ।

कर्णालीबाट भने युवा नेता भूपेन्द्रजंग शाहीले राष्ट्रिय सभा उम्मेदवार बन्ने प्रबल सम्भावना रहेको छ । तर, उनी सभापति देउवा पक्षको नभएको हुनाले संस्थापन इतर समूहबाट पर्ने कि नपर्ने भन्नेमा द्विविधा नै छ । प्रदेश कांग्रेस सभापति जीवनबहादुर शाहीले भने कर्णालीबाट शाही नै निर्विकल्प उम्मेदवार भएको बताएका छन् । शाहीलाई आमनिर्वाचनमा नै टिकट दिनुपर्ने कतिपय कालीकोटबासीको मत रहेकोमा त्यतिबेला टिकट नपाएका शाहीले यसपटक राष्ट्रिय सभाको उम्मेदवार बन्ने निश्चित प्रायः रहेको बुझिन्छ ।

उनी संस्थापन इतरका समूहका रहेको हुनाले पनि इतरसमूहबाट पनि उनी रोजाइमा पर्ने देखिन्छ ।

त्यस्तै सभापति देउवाको गृह प्रदेश सुदूरपश्चिमबाट डडेलधुराका पार्टी सभापति भीमबहादुर साउदले दौडधूप गरिरहेका छन् ।

कांग्रेसले ७ प्रदेशमा १/१ जना उम्मेदवार बनाउने भए पनि भागबन्डा अनुसार अरु २ जना पनि पाउने सम्भावना छ । त्यसका लागि काठमाडौं कांग्रेस सभापति सबुज बानियाँले दौडधूप गरेको पनि जनाइएको छ ।

राष्ट्रिय सभाका १९ सिटमध्ये कांग्रेसले ८, माओवादी केन्द्रले ६, एकीकृत समाजवादी ३ सिट र जनता समाजवादी पार्टीले १ सिट पाउने सत्तागठबन्धनको सहमति भइसकेको जनाइए पनि बाँकी रहेको सिटमा कुन पार्टीले बाजी मार्ने त्यो भने हेर्न बाँकी नै रहेको छ ।

यी दौडधूपमा यी नेताहरु देखिए पनि अन्य नेताहरुले पनि दाबी गरिरहेको स्रोतले जनाएको छ । कतिपय नेताहरुले गत आम निर्वाचनमा टिकट पाएर पराजित भएकाले टिकट पाउन नहुने जनाएका छन् भने कतिपयले समानुपातिक हिसाबले उम्मेदवार चयन गर्नुपर्ने जनाएका छन् ।

प्रतिक्रिया