तामाङ मौलिक सेलो संगीत महोत्सव हुँदै


काठमाडौं – तामाङ कलाकारहरु छाता संगठन नेपाल तामाङ कलाकार संघको आयोजनामा तामाङ मौलिक सेलो संगीत महोत्सवको तयारी तिव्र पारेका छन् ।

तामाङ मौलिक गीत, संगीत, सभ्यता र संस्कृतिको उत्थान तथा प्रबर्द्धन गर्ने मुख्य उदेश्य राखेर तेस्रो पटक महोत्सव गर्न लागेको संघका अध्यक्ष विशाल काल्तानले जानकारी गराए । साथै उनले डम्फू संस्कृतिले तामाङहरुको उत्पत्ति र सभ्यताको विषयमा उजागर गर्ने अनि तिनै डम्फूको जगमा सिर्जित सेलो संस्कृति र ताम्बा संस्कृतिको संरक्षण गर्न महोत्सवले टेवा पुर्याउने बताए ।

हराउँदै गएको तामाङ पहिचानलाई बचाउन साँस्कृतिक चिनारी डम्फू र ताम्बा संस्कृतिलाई राष्ट्रियकरण गर्न यो महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्नेछ । मंसिर २९ र ३० गते बौद्ध चुचेपाटी स्थित हायत होटलको प्रांगणमा हुने उक्त महोत्सवको तयारी तिव्र बनाइरहेका छन् । साँस्कृतिक प्रस्तुतिहरु देखि प्राविधिक कार्यहरूको समेत तयारी करिब करिब अन्तिम चरणमा पुगेको छ ।

महोत्सवमा साँस्कृतिक प्रस्तुतिहरुको साथमा विभिन्न कला, संस्कृति, भेषभुषा र तामाङ पहिचान दिने विभिन्न खानाका परिकारहरुको समेत स्टल रहनेछ । बौद्ध स्थित तामाङ संघसंस्थाहरुसंगको सहकार्यमा साँस्कृतिक र्याली सहित बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गर्ने संघका महासचिव खेम मोक्तानले जानकारी गराएका छन् ।

प्रतिक्रिया