अभिनेत्री रेखा थापामाथि पूर्वम्यानेजर भट्टको आरोप– राउटेहरूको प्रयोग मात्र गरिन्


काठमाडौं– फाउन्डेशनका नाममा समाज सेवाको प्रचार गरी आफूलाई स्थापित गर्न खोज्ने कलाकारमाथि प्रश्न उठ्न थालेका छन्। हालै मात्र अभिनेत्री श्वेता खड्काको श्वेताश्री फाउन्डेशनले माझी बस्ती बनाएको भनी गलत प्रचार भएको आरोप लागिरहेका बेला अभिनेत्री रेखा थापामाथि पनि प्रश्न उठेको छ।

अभिनेता तथा रेखा थापा फाउन्डेशनका पूर्वम्यानेजर पुष्कर भट्टले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रश्नउठाएका हुन्। भट्टले उच्च शिक्षा दिने भनेर काठमाडौं ल्याएको राउटेहरू अहिले कहाँ छन्? भनी सोधेका छन्।

फिल्म ‘हिम्मतवाली’ प्रमोसनका लागि राउटेहरूलाई प्रयोग गरेको आरोप लगाएका भट्टले भनेका छन्,‘नायिका रेखा थापाले पनि रेखा थापा फाउन्डेसन र राउटेहरूको सवालमा नेपाली समाजलाई सार्वजनिक रुपमै जवाफ दिन जरुरी छ।’

हिम्मतवाली फिल्म प्रमोसनको लागि नजानिदो तरिकाले ४ जना राउटेहरूलाई फाउन्डेसनमार्फत काठमाडौं ल्याएर फिल्म हल चहारेर फिल्म प्रमोशनका लागि प्रयोग गरेको आरोप लगाएका उनले भनेका छन्,‘सोझा राउटेहरूलाई प्रयोग गरेर जुन चर्चा तपाईले बटुल्नुभयो। त्यसको भोली पल्ट राउटेहरु कहाँ गए, कता गए र कसरी गए? कुनै समवेदना र भावना तपाईंसँग छ? आजको मितिसम्म जान्न पनि चाहनु भएको छ रेखाजी?’

रेखा थापा फाउन्डेसनका लागि २ र ३ करोड क्यानडाको एक फाउन्डेसनले सहयोग गरेको समेत खुलाएका उनले भनेका छन्,‘२–३ करोड पैसा तपाईंको आफ्नै थियो कि, क्यानडाको कुनै फाउन्डेसनले सहयोग गरेको थियो? के त्यो बेला तपाईंले चन्दा माग्दा जायज हुने? अहिले समाजमा केही राम्रो गरेका समाजसेवीहरूले माग्दा तपाईंलाई सहन नहुने?’

उनले अहिले समाजसेवा गरिरहेका धुर्मुस– सुन्तली, रवि लामिछाने, ज्ञानेन्द्र शाही र श्वेता खड्काको विषयमा प्रश्न गर्नुभन्दा आफूलाई नियाल्न र अरुको बारेमा अन्तर्वार्ताहरू दिएर छोटो चर्चामा नआउन सुझाव दिएका छन्।

प्रतिक्रिया