उर्लाबारीका प्रविण बाँस्तोला मृत्यु प्रकरण, पोष्टमार्टम रिपोर्ट भन्छ– एक्सपेसिया


काठमाडौं– आफ्ना दाजु प्रविण बाँस्तोलाको शंकास्पद मृत्यु भएको भन्दै सदिक्षा बाँस्तोलाले इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट लाइभ गरेपछि प्रहरीले छानबिनमा लापरवाही गरेको भन्ने विषय सतहमा आएको छ।

सोही कारण अहिले इलाका प्रहरी कार्यालयअघि दिनैपिच्छे प्रदर्शन र धर्ना हुने गरेको बताइन्छ। आफन्तको मृत्यु प्रकरण अनुसन्धानमा चित्त नबुझाउँदै परिवारले प्रहरी कार्यालयअगाडि प्रदर्शन गरिरहेका छन्।

कसरी भयो यस्तो ?

४ पुसमा प्रविण घरबाट निस्किएर सौरभी होटल पुगेका थिए। साथीहरू राजेश रणपहेंली, दीपेश पौडेल, मेरमान दर्जी र सुदीप परियारसँग सोही होटलमा मदिरा सेवन गरेको खुलेको छ।

घर फर्किन नसक्ने अवस्थाबीच चार जना मिलेर बाँस्तोलालाई उनीहरू बस्ने डेरामा पुराएको प्रहरीको अनुसन्धानमा खुलेको थियो।  प्रविण भोलीपल्ट अचेत भएपछि गोदावरी अस्पतालमा पुराएर अन्य साथी हिँडेका थिए।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनी मृत घोषणा भयो, उजुरी परेपछि प्रहरीले प्रविणका साथीलाई पक्राउ गरेको थियो। तर यो प्रकरणको सुरुआत भने कानुनी प्रक्रियामा प्रहरीको बाध्यतामा परेको थियो। जसबारे परिवारका सदस्यले गुनासो गर्दा इप्रका उर्लाबारीमा प्रहरी निरिक्षक उद्धव पोखरेलले राम्रोसँग समन्वय गर्न सकेनन्।

मोरङका प्रहरी प्रमुख उपरिक्षक (एसपी) सन्तोष खड्काका अनुसार प्रहरीले अनुसन्धानमा खासै कमजोरी गरेको थिएन। तर आवेश र आवेगमा रहेका मृतकका आफन्तलाई सही समन्वय हुन नसकेको जस्तो लागेर छानबिन समिति पनि बनाइएको छ।

के थियो कानुनी प्रक्रिया?

उर्लाबारीमा भएका मृत्युलगायतका सामान्य घटनालाई मंगलबारेस्थित अस्पतालमा नै पोष्टमार्टम गरिन्छ। तर प्रविणको पोष्टमार्टमा लागि अझ राम्रोसँग होस भनेर धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइयो।

प्रहरीले भिसेरा रिपोर्ट (भित्री अंगहरू)को अंश, जसबाट मृत्युको कारण पत्ता लगाउन सकिन्छ, त्यसलाई फरेन्सिक ल्याबमा पठायो।

प्रहरीले २५ दिन थुनामा राखेर फरेन्सिक रिपोर्टबेगरै माघ २ गते जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। सरकारी वकिलको कार्यालयले नियन्त्रणमा लिइएकाहरूलाई नराख्न भन्यो। तैपनि प्रहरीले उनीहरूलाई हाजिरी जमानी गर्न भन्यो।

लामो समयपछि आएको रिपोर्टमा वीपले प्रविणको मृत्युको कारण–

एक्सपेसिया भनेर पठायो। एक्सपेसिया शरिरमा अक्सिजना नहुँदा अचेत हुने अवस्था हो। जसका कारण मृत्यु हुन्छ। यसलाई सडेन डेथका रुपमा पनि बुझ्न सकिन्छ।

फरेन्सिक रिपोर्ट आएपछि प्रहरीले दोस्रो पटक सरकारी वकिलको कार्यालयमा माघ १२ गते अनुसन्धान प्रतिवेदन बुझायो। जसलाई सरकारी वकिलको कार्यालयले मानेन र मृतकका आफन्त प्रहरीसँग रुष्ट भए।

प्रहरीले गलत मिसिल बनाएको भन्ने पीडित परिवारको आरोप रहेको छ।

यसरी आफन्तले अनुसन्धानमा चित्त नबुझाएपछि जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार छानविन समिति गठन गरेको छ। प्रहरी नायब उपरीक्षक (डिएसपी)मानबहादुर राईको नेतृत्वमा आइतबार प्रहरीले अनुसन्धानबारे छानविन समिति गठन गरेको हो। छानविन समितिलाई सात दिनको समय दिइएको एसपी खड्काले बताए।

‘यो प्रकरणमा प्रहरी कहिँ चुकेको छैन, कहिँ चुकेको भए या गलत भएको अवस्थामा पनि छानबिन समितिले सत्यतथ्य बाहिर निकाल्ने छ’, खड्का भन्छन्,‘यहाँ परिवारसँगको समन्वयमा कमजोरी रहेको हुनसक्छ। अनुसन्धानमा खासै कमी भएको भन्ने छैन तैपनि समितिले हेर्छ।’

प्रतिक्रिया