अनुराधाले किन छाडिन् बलिउड ?


मुम्बई(एजेन्सी)– बलिउडकी प्रतिभावान गायिकामध्ये एक अनुराधा पौड्वाल बलिउडबाट अहिले गायब छिन् । अनुराधाको नाम आज पनि ८० र ९० दशकको टप गायिकाका रुपमा लिइन्छ । कुनै समय लता मंगेशकर र आशा भोसले जस्तो गायिकाको स्थानमा अनुराधा उभिएकी थिइन् ।

अनुराधाले आफ्नो समयमा गाएका प्रायः सबै गीत हिट थिए । जसमा सन् १९९१ मा रिलिज फिल्म ‘बेटा’को गीत ‘धक–धक करने लगा’ र फिल्म ‘साजन’ को गीत ‘बहुत प्यार करते हैं तुमको सनम’ सहित दर्जनौं गीत हिट गीतमा सामेल थिए ।

यद्यपि गायकी करियरले शिखर चुमिरहँदा उनले एउटा यस्तो निर्णय लिइन्, जसका कारण उनी मूलधारको बलिउडबाट विस्तारै हराउदै गइन् । उनले बलिउडमा पाश्र्व गायनलाई छोडेर भजन र भक्ति गीत गाउने निर्णय लिनु नै उनलाई बलिउडबाट टाढिनुपर्ने कारण बन्यो । जुन ठाउँबाट उनले आफ्नो गायन करियरलाई स्थापित गरिन्, त्यही ठाउँलाई छोडेपछि उनको आवाज बलिउडमा सुन्न नै छाडियो ।

अनुराधाको करियरजस्तै उनको निजी जीवन पनि उतारचढावपूर्ण नै रह्यो । अनुराधाले संगीतकार अरुण पौड्वालसँग विवाह गरेकी थिइन् । उनीहरुको दुई सन्तान आदित्य र कविता जन्मिए । तर अरुणको अचानक मृत्यु भएपछि अनुराधाको जीवनमा कठिन समयको शुरुवात भयो । अरुणको मृत्युबाट विक्षिप्त बनेकी अनुराधाले त्यो पीडाबाट बाहिर निस्कन निकै संघर्ष गर्नुपर्यो । जसकारण उनको गायन करियरमा पनि प्रत्यक्ष असर पर्यो । यसै वर्षमात्र उनको छोरा आदित्यको पनि लामो समयको अस्वस्थताका कारण निधन भयो ।

प्रतिक्रिया