भारतीय सैनिक प्रमुख नरवणेअघि ‘रअ’ प्रमुख गोयल किन आए काठमाडौं ?


काठमाडौं– १८ कात्तिकमा भारतीय स्थल सेना प्रमुख मणिमुकुन्द नरवणे काठमाडौं ओर्लीनुअघि नै भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालाइसीस विङ्स (रअ) प्रमुख सामन्त गोयल बुधबार काठमाडौं ओर्लिनुलाई चासोपूर्व हेरिएको छ ।

उच्च स्रोतका अनुसार नक्शा विवादका क्रममा नरवणेले दिएको अभिव्यक्तिले उनको भ्रमणलाई असर गर्न सक्ने विषयमा अध्ययन गर्न गोयल काठमाडौं आएको बताए पनि उच्च तहका अनौपचारिक भेटले संशयको मार्ग खोलेको छ ।

गोयलले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपाका नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्नु राजनीतिक तहमा नै भारत हस्तक्षेपकारी भूमिकामा सक्रिय भएको व्याख्या गरिएको छ ।

राजनीतिक तहमा भारतीय संस्थापन अर्थात् प्रधानमन्त्री नरेन्द्र मोदीको कुटनीतिक सम्बन्ध नेपालसँग राम्रो नभएको भन्ने त्यहाँका थिंक ट्यांकको सुझावपछि रअको सक्रियता बढाइएको हो ।

यसबीचमा लिपुलेक, लिम्पियाधुरा, कालापानीका विषयमा नेपाल भारतबीच विवाद थियो । नेपालले नयाँ नक्शा जारी गरेपछि भारतले नेपालको राजनीतिक लाइन चीनसँग नजिक भएको ठहर गरेको थियो ।

लगत्तै प्रधानमन्त्री ओलीले दिएको राम नेपालमा जन्मिएको, अयोध्या नेपालमा रहेको भन्ने अभिव्यक्तिले भारतीय संस्थापन झनै सशंकित भयो र अयोध्यामा कोभिड महामारीबीच राम मन्दिरको शिलान्यास गरिएको थियो ।

‘नेपालमा चीनको भूमिका बलियो भयो भन्ने भारतीय बुद्धिजीवि र मिडियाको सुझावका आधारमा हस्तक्षेपकारी भूमिका देखाउन भारतीय संस्थापनले यस्ता गतिविधि गरेको हो’, कुटनीतिक जानकार भन्छन्,‘यस्ता विषयलाई नेपाल सरकार र यहाँका नेताले कसरी डिल गर्छन् भन्ने चिज महत्वपूर्ण हुन्छ ।’

नेकपाभित्र अहिले आन्तरिक समस्या रहेका बेला नै रअ प्रमुख गोयलको भ्रमणलाई अनेक कोणका अर्थबाट विश्लेषण गर्न आवश्यक देखिएको छ । प्रधानमन्त्री ओली र प्रचण्डबीच सतहमा नै विवाद रहेको छारष्ट छ ।

रअ प्रमुख गोयल र अर्का अधिकारी अरुण जैनसहित नौजनाको टोली बुधबार भारतीय एयरफोर्सको जहाज अपराह्न १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

गोयलले बालुवाटार पुगेर प्रधानमन्त्री केपी ओलीसँग संवाद गरेका छन् । पौने १६ घन्टा काठमाडौं बसाइमा उनले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपाललगायतलाई भेट्ने तालिका छ ।

लिम्पियाधुरा समेटिएको पुस्तक वितरण रोकिनु पनि आन्तरिक रुपमा भारतको हस्तक्षेपकारी कुटनीतिको प्रभावका रुपमा बुझिएको छ ।

लिपुलेक, कालापानी र लिम्पियाधुरासम्मको भूभाग समेटेर तयार पारिएको नक्सा समावेश भएको पुस्तक वितरण सरकारले नै रोकेको छ । शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले कक्षा नौदेखि १२ सम्मका विद्यार्थीका लागि यो प्रकाशन गरेको हो, तर प्रधानमन्त्री केपी ओलीको निर्देशनपछि यो पुस्तकको वितरण रोकिएको हो ।

प्रतिक्रिया