नेपाली कांग्रेसको १४औं महाधिवेशन घाेषणा, यस्ताे छ निर्णयहरू


काठमाडौं –  नेपाली कांग्रेसको १४औं महाधिवेशन २०७८ भदौ दोस्रो साता गर्ने निर्णय भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय समितिको बैठकले १४ औं महाधिवेशन भदौ ७-१० गर्ने निर्णय गरेको हो ।

सभापति शेरबहादुर देउवा तर्फबाट बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले फागुन ५ को बैठकमा प्रस्तुत गरेको प्रस्ताव र बिहीबारको बैठकमा प्रस्तुत भएका थप प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । नियमित कार्यकालमा महाधिवेशन गर्न नसकेका देउवाले विधानको सहारा लिएर ६ महिना म्याद थप गरेर नयाँ मिति तोकेका हुन् ।

कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४३ मा पार्टीका सबै तहका पदाधिकारी र सदस्यहरुको पदावधी ४ वर्षको रहेको र असाधारण स्थितिमा एक वर्ष थप गर्न पाउने व्यवस्था बमोजिम पाँच वर्षको रहेकोमा, नेपालको संविधानको धारा २६९ (४) ख को प्रतिबन्धात्मक वाक्यांश बमोजिम विशेष परिस्थितिका कारण पाँच वर्षभित्र निर्वाचन हुन नसकेमा ६ महिना थप गर्न सकिने उल्लेख छ ।

सो बमोजिम पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको अवधि ६ महिनाका लागि थप गर्ने व्यवस्थाका लागि पार्टी विधानको धारा ४३ मा व्यवस्था गर्ने बैठकले निर्णय गरेको छ ।

यस्ता छन् निर्णयहरु

फागुन ६, २०७७

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो । बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले फागुन ५ को बैठकमा प्रस्तुत गर्नु भएका प्रस्ताव र आजको बैठकमा प्रस्तुत गर्नु भएको थप प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

प्रस्ताव नं. १

नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४३ मा पार्टीका सबै तहका पदाधिकारी र सदस्यहरुको पदावधी ४ (चार) वर्षको रहेको र असाधारण स्थितिमा एक वर्ष थप गर्न पाउने व्यवस्था बमोजिम पाँच वर्षको रहेकोमा, नेपालको संविधानको धारा २६९ (४) (ख) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम विशेष परिस्थितिका कारण पाँच वर्षभित्र निर्वाचन हुन नसकेमा ६ (छ) महिना थप गर्न सकिने भएकोले, सो बमोजिम पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको अवधि ६ (छ) महिनाका लागि थप गर्ने व्यवस्थाका लागि पार्टी विधानको धारा ४३ मा व्यवस्था गर्ने । उक्त निर्णय पार्टीको आगामी चौधौं महाधिवेशनमा राखिनेछ ।

प्रस्ताव नं. २

नेपाली कांग्रेसको विधानका केही व्यवस्थाहरुमा सामान्य संशोधन, परिमार्जन र व्याख्या गर्न आवश्यक देखिएकोले यसै विधानको धारा ४७ र धारा ५० (५) ले दिएको अधिकार प्रयोग गरी देहाय बमोजिम संशोधन, परिमार्जन र व्याख्या गर्ने निर्णय गरिन्छ । यस निर्णयलाई पार्टीको आगामी महाधिवेशनमा अनुमोदनका लागि प्रस्तुत गरिनेछ ।

१. नेपाली कांग्रेसको विधानको धारा ६ (२) (क), धारा ७ (२) (क) (१), धारा ७ (२) (ख) (१), धारा ७

(२) (ग) (१), धारा ८ (२) (क) (१), धारा ९ (२) (क) (१) (उपमहानगरपालिका र महानगरपालिकाको सभापति वाहेक), धारा १० (३) (क), धारा १० (४) (क) (१), धारा ११ (२) (क), धारा १२ (५) (क) (४), धारा १५ (१) (क) र धारा १५ (१) (ख) मा पार्टीका विभिन्न पदमा उम्मेदवार हुन निरन्तर क्रियाशील सदस्य भएको अवधी तोकिएकोमा उक्त क्रियाशील सदस्यको “अवधी सम्बन्धी व्यवस्था” निलम्वन गर्ने ।

तर, पार्टीको केन्द्रीय सभापति, केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य, प्रदेश सभापति, प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्य, जिल्ला सभापति, प्रतिनिधि सभा क्षेत्रीय सभापति, महानगरपालिकाको सभापति र उपमहानगरपालिकाको सभापतिको लागि यो व्यवस्था निलम्वन भएको मानिने छैन ।

२. नेपाली कांग्रेसको विधानको धारा ४ (१०) (ग) र (ङ) बमोजिम अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गरेका व्यक्तिको हकमा क्रियाशील सदस्यताको अवधी गणना गर्दा नेपाली कांग्रेसको जुन पदमा हाल समायोजन (पदासिन) भएका छन्, उक्त पदका लागि आवश्यक अवधी पुगेको

मानिनेछ । उक्त अवधी आवश्यक पर्ने अन्य पदमा समेत उम्मेदवार हुन योग्य मानिने छन् ।

तर, पार्टीको केन्द्रीय सदस्य रहेको व्यक्ति न्यूनतम १० वर्ष निरन्तर क्रियाशील सदस्य हुनु पर्ने पदमा उम्मेदवार हुन पाउने वाहेक अन्य व्यक्ति जिल्ला सभापति, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको सभापति, महानगरपालिका र उपमहानगरपालिकाको सभापतिमा उम्मेदवार हुन पाउने छैन ।

३. कुनै राजनीतिक दल नेपाली कांग्रेससंग एकिकरण वा विलय हुँदा राष्ट्रिय मान्यता प्राप्त दल रहेछ भने त्यस्तो दल एकिकरण वा विलय हुँदा उक्त दलको केन्द्रीय कार्यसमितिको सदस्य रहेको व्यक्ति वा राष्ट्रिय मान्यता प्राप्त दलको केन्द्रीय कार्यसमितिको पदाधिकारी वा सदस्य भएको व्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा उम्मेदवार हुन पाउनेछ ।

४. पार्टीको विभिन्न तहमा सभापतिको कार्य अवधि गणना गर्दा निम्न बमोजिम गर्ने ः

(क) केन्द्रीय सभापति र जिल्ला सभापति वाहेक अन्य तहका सभापतिको पदावधी तेह्रौ महाधिवेशन देखि गणना हुनेछ ।

(ख) तेह्रौ महाधिवेशनमा सभापतिमा निर्वाचित नभएको, तर समायोजन गर्दा सभापति कायम भएको भए अवधि गणना नहुने ।

(ग) तेह्रौ महाधिवेशनमा समायोजन पूर्व सभापति निर्वाचित भएको र समायोजनमा पनि सभापति कायम भएको भए एक अवधि गणना हुने ।

(घ) तेह्रौ महाधिवेशनमा माथिल्लो तहमा निर्वाचित सभापति समायोजन गर्दा एक तह मातहतको पदको सभापति कायम भएमा एक अवधि गणना हुने ।

(ङ) स्थानीय तहको पुर्नसंरचना हुँदा साविकको वडा वा पालिका (गा.पा., न.पा., उपम.न.पा. र म.न.पा.) को समायोजन, रुपान्तरण वा स्तर परिर्वतन भएको अवस्थामा साविकमा कुनै पनि तहमा सभापति भएको व्यक्ति रुपान्तरण पछि पनि जुनसुकै तहमा सभापति भएमा पदावधी गणना हुने ।

५. प्रदेश अधिवेशन सम्पन्न नभएसम्मका लागि अधिवेशनसँग सम्बन्धित प्रदेश कार्यसमितिले गर्ने भनी विधानमा उल्लेख गरिएका काम केन्द्रीय कार्यसमितिले गर्ने ।

प्रस्ताव नं. ३

विदेशस्थित नेपाली जनसम्पर्क समिति सम्बन्धी :

१. म्याद समाप्त भएका भारत, अमेरिका, इटाली, जर्मनी, स्पेन, कतार, मलेशिया, न्यूजिल्याण्ड, पोल्याण्ड, चीन, फिनल्याण्ड, आयरलैण्ड, स्वीडेन, स्वीटजरलैण्ड, साउदी अरव, बेल्जियम, जापान र अष्ट्रेलिया, दक्षिण कोरिया, पोर्चुगल, मकाउ, बहराईन, ओमन, फ्रान्स र लग्जम्वर्ग स्थित नेपाली जनसम्पर्क समितिको थप गरिएको ६ महिनाको अवधी समाप्त भएको र नेपाली जनसम्पर्क समिति बेलायतको अवधी पनि समाप्त भएकोले उल्लेखित देशहरु स्थित नेपाली जनसम्पर्क समितिको अवधी समाप्त भएको मितिले असार महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी म्याद थप गर्ने ।

२. नेपाली जनसम्पर्क समिति ओमनबाट पार्टीको विधान र नियमावली बमोजिमको आवश्यक प्रक्रिया पु¥याई क्रियाशील सदस्यताको नयाँ (४१०) र नविकरण (१००) को नामावलीको सूची र सो वापतको सदस्यता शुल्क समेत दाखिला हुन आएकोले उक्त जनसम्पर्क समितिबाट प्राप्त क्रियाशील सदस्यतालाई स्वीकृत गर्ने ।

३. नेपाली कांग्रेसको विधान र नियमावलीको व्यवस्थासंग नबाझिने गरी तयार गरी नेपाली जनसम्पर्क समिति कतारबाट अनुमोदन गरी पठाइएको विधानलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा १४ (३) बमोजिम स्वीकत गर्ने ।

प्रस्ताव नं. ४

समायोजन, क्रियाशील सदस्यता वितरण

र अधिवेशनका कार्यतालिका नयाँ प्रस्तावित मिति

(क) समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्नु पर्ने अन्तिम अवधि– २०७७ फागुन १५ गतेभित्र ।

(ख) विधानले तोकेको कार्यविधि बमोजिम एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला कार्यसमितिले क्रियाशील सदस्यताको नयाँ र नवीकरण तथा एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले क्रियाशील सदस्यताको नयाँ र जिल्ला कार्यसमितिले नवीकरणको कार्य सम्पन्न गर्ने अवधि- २०७७ फागुन २८ गतेभित्र ।

– वडा कार्यसमितिले पालिका कार्यसमितिलाई बुझाउने :फागुन १२ गते भित्र ।

– पालिका कार्यसमितिले प्रदेश सभा क्षेत्रीय कार्यसमितिलाई बुझाउने:फागुन १६ गते भित्र ।

– प्रदेश सभा क्षेत्रीय कार्यसमितिले प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिलाई (एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला कार्यसमितिलाई) बुझाउनेः फागुन २० गते भित्र ।

– प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नवीकरणको फारम र सूची जिल्ला कार्यसमितिलाई बुझाउने:फागुन २८ गते भित्र ।

(ग) (१) एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यता र एक वा एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको क्रियाशील सदस्यता नवीकरणको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने अवधि-

(२) एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यताको सूची प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले प्रकाशित गरी जिल्ला कार्यसमितिमा र केन्द्रमा पठाउने अवधि- २०७७ चैत्र १० गते भित्र ।

(घ) नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा परेका उजुरी उपर छानविन गरी निर्णय गर्ने र निर्णय अनुसारको सूची प्रकाशित गरी केन्द्रमा पठाउनु पर्ने अवधि- २०७७ चैत्र २५ गते भित्र ।

(ङ) नयाँ क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णय उपर परेको पुनरावेदन र क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा क्रियाशील सदस्यता नवीकरण सम्बन्धी परेका उजुरी उपर अन्तिम निर्णय गरी क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि- २०७८ जेठ १७ गते भित्र ।

(च) केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि – २०७८ जेठ २४ गतेभित्र ।

अधिवेशन :

(क) गाउँ- नगर वडा अधिवेशन– २०७८ असार ५ गते

(ख) गाउँ- नगरपालिका अधिवेशन– २०७८ असार ७ गते

(ग) प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७८ श्रावण १ गते

(घ) प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन- एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७८ श्रावण ३ गते

(ङ) एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७८ श्रावण ६ गते

(च) प्रदेश अधिवेशन– २०७८ श्रावण १० र ११ गते

(छ) केन्द्रीय महाधिवेशन:२०७८ भाद्र ७,८,९ र १० काठमाडौं

प्रस्ताव नं. ५

क्रियाशील सदस्यता छानविन समितिलाई निम्न कार्यादेश दिइएको छ ।

१. नयाँ क्रियाशील सदस्यता सम्बन्धमा जिल्ला स्तरिय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णय उपर परेको पुनरावेदन र क्रियाशील सदस्यता नविकरण सम्बन्धमा परेका उजुरी उपर विधानको धारा ४ (८) (ङ) बमोजिमको समितिले गर्ने कार्य गर्ने ।

२. पार्टीको विधान, नियमावली र मिति २०७६- ११- १३ गते समेतका केन्द्रीय परिपत्र बमोजिम पार्टीका सबै सम्बन्धित निकायबाट क्रियाशील सदस्यता (नयाँ वितरण र नविकरण) सम्बन्धी कामको जानकारी लिने, प्रक्रियाको पालना भए- नभएको अनुगमन गर्ने र क्रियाशील सदस्यता

(नयाँ र नविकरण) सम्बन्धमा केन्द्रले तोकेको मितिभित्र कार्यसम्पन्न गर्नका लागि आवश्यक अनुगमन, निर्देशन र निर्णय गर्ने ।

३. क्रियाशील सदस्यता सम्बन्धमा समितिले आवश्यकता अनुसार जिम्मेवारी तोकी केन्द्रीय प्रतिनिधि खटाउन सक्ने ।

४. क्रियाशील सदस्यता सम्बन्धमा परेका उजुरी र पुनरावेदन उपर अन्तिम निर्णय गर्ने ।

५. क्रियाशील सदस्यता (नयाँ र नविकरण) को प्रमाणित सूची केन्द्रले तोकेको मितिभित्र पार्टीको विधान, नियमावली र मिति २०७६- ११- १३ गतेको केन्द्रीय परिपत्रले निर्देशन गरे अनुरुपको प्रक्रिया पुरा गरी केन्द्रीय कार्यालयमा आइसक्नु पर्नेछ । प्रक्रिया पुरा नभएका क्रियाशील सदस्यताको नामावलीको सूची स्वीकृत हुने छैन ।

६. केन्द्रले तोकेको मिति भित्र क्रियाशील सदस्यता नवुझाउने जिल्लाले महाधिवेशनमा भाग लिन पाउने छैन ।

७. पार्टीको सबै निकायले (वडा- पालिका- प्रदेश सभा- प्रतिनिधि सभा- जिल्ला) केन्द्रले तोकेको मिति भित्र आफु भन्दा माथिको निकायलाई क्रियाशील सदस्यता बुझाउदा आफ्नो र मातहात निकायको बैठकको निर्णयको प्रमाणित प्रतिलिपी, क्रियाशील सदस्यता (नयाँ र नविकरण) को प्रमाणित सूची, सदस्यता शुल्क र सहयोग रकम (लेवी) अनिवार्य रुपले बुझाउनु पर्नेछ । प्रतिनिधि सभा- जिल्ला कार्यसमितिले केन्द्रमा क्रियाशील सदस्यताको सूची बुझाउदा उपरोक्त उल्लेखित सबै तहका कागजात अनिवार्य रुपमा संलग्न राख्नु पर्नेछ ।

८. क्रियाशील सदस्यता छानविन समितिले महाधिवेशनको कार्यतालिका बमोजिमको मितिभित्र क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणमा देखिएका सम्पूर्ण विवाद टुंग्याई केन्द्रीय कार्यसमितिमा प्रतिवेदन पेश गर्नेछ ।

९. क्रियाशील सदस्यता छानविन समितिले तेह्रौ महाधिवेशनको कार्यविधिलाई आवश्यक संशोधन र परिमार्जन गरी लागु गर्नेछ ।

प्रस्ताव नं. ६

आन्दोलनका कार्यक्रम बारे

प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा केन्द्रीय कार्यसमितिले घोषणा गरे अनुरुप पुस १३ गतेदेखि फागुन ३ गतेसम्म विभिन्न तहमा भएका प्रदर्शनमा भएको व्यापक सहभागिताबाट पार्टीले अघि सारेको धारणाका पक्षमा व्यापक जनमत प्रकट भएको छ । अतः पार्टीको क्रियाशील सदस्यता वितरण र महाधिवेशन तयारीका कार्यहरुलाई असर नपर्ने गरी आन्दोलनलाई निरन्तरता दिंदै कार्यक्रम निर्माण र आयोजना पार्टी जिल्ला कार्यसमिति एवं विभिन्न तहलाई गर्न निर्देशन दिइएको छ ।

जिल्लाद्वारा निर्धारित कार्यक्रमहरुलाई असर नपर्ने गरी भ्रातृ एवं शुभेच्छुक संस्थाहरुले आन्दोलनका थप कार्यक्रम आयोजना गर्नेछन् ।

प्रस्ताव नं. ७

महिला उपर बढ्दो हिंसा, बलात्कार र हत्याका विरुद्ध

देशका विभिन्न भागमा महिला उपर हिंसा, बलात्कार र हत्याका घटनाहरु पछिल्लो समय झनै बढेर गएकोमा गम्भीर चिन्ता प्रकट गर्दै बैठकले त्यस विरुद्ध समाजको जागरुकता र राज्यको कर्तव्यमा तदारुकता बढाउन अपिल गर्ने निर्णय गरेको छ । यस्ता घटनाका विरुद्ध दवावमूलक अभियानका लागि पार्टी पंक्तिलाई परिचालन गर्ने निर्णय बैठकले गरेको छ । फागुन ८ गते दिनको १ बजे राजधानीको रत्नपार्क (शान्तिवाटिका) मा नेपाल महिला संघद्वारा आयोजित प्रदर्शनमा व्यापक सहभागिताका लागि बैठकले सबैलाई अपिल गरेको छ ।

प्रस्ताव नं. ८

कोभिड- १९ विरुद्धको खोप

कोभिड- १९ को प्रकोप अझै समाप्त भएको छैन । कयौं देशमा पछिल्लो समय परेको नयाँ र गम्भीर प्रकृतिको कोभिड- १९ नेपालमा प्रवेश गर्न सक्ने सम्भावना प्रति नेपाल सरकार गम्भीर देखिएको छैन । नेपाली कांग्रेस पार्टी कोभिडको नयाँ भेरिएन्ट नेपालमा प्रवेश हुन नदिनका लागि आवश्यक पर्ने सम्पूर्ण उपाय गर्न सरकारसँग माग गर्दछ ।

कोभिड- १९ विरुद्ध आम जनतालाई खोप लगाई स्थायी रुपमा यो प्रकोपलाई रोक्न सरकारले कुनै स्पष्ट कार्य योजना ल्याएको छैन । छिमेकी राष्ट्र भारतबाट सहयोग स्वरुप प्राप्त १० लाख डोज खोपको वितरणमा सुस्पष्ट प्राथमिकता निर्धारण गरिएको छैन । अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी तथा संचारकर्मीहरुलाई खोपमा प्राथमिकता उपयुक्त हो । तर ज्येष्ठ नागरिकहरुलाई धेरै अगाडि प्राथमिकतामा राखेर खोप वितरण गर्नु पर्नेमा बल्ल अहिले आएर सरकारले त्यसलाई प्राथमिकतामा राखेको घोषणा गरेको छ । सरकारले खोपको विश्वसनीयताको बारेमा यथेष्ट सूचना प्रवाह नगर्नाले खोप लगाउने बारेमा जन–आशंका कम भएको छैन भने खोपको वितरणमा पनि पहुँचका आधारमा जथाभावी बाढिएको खबरहरु आइरहेका छन् । यसप्रति नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ ।

प्राथमिकताका आधारमा प्रत्येक नेपालीले खोप प्राप्त गर्ने गरी अनुदानमा या आवश्यक बजेट विनियोजन गरेर विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुपको पर्याप्त खोप ल्याउन र जनतालाई निःशुल्क उपलब्ध गराउन विस्तृत कार्ययोजना अविलम्व निर्माण गरी सार्वजनिक गर्न माग गर्दछ ।

प्रस्ताव नं. ९

विभिन्न नियुक्ति सम्बन्धमा

एकातर्फ निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई दबाब दिने, अर्कातर्फ निजामती सेवा र प्रहरीमा सरुवा, विभिन्न निकायमा नियुक्ति एवं समस्या समाधान गर्न होइन नागरिकलाई प्रलोभनमा पार्ने उद्देश्यले भूमी आयोगमा नियुक्ति गर्ने, यो द्वैध चरित्रले सत्ताको चरम दुरुपयोग भएको छ भने नैतिक आचारको दृष्टिले समेत यो विल्कुलै गलत र आपत्तिजनक रहेकोे ठहर यो बैठक गर्दछ ।

प्रस्ताव नं. १०

पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि विरुद्ध

कोभिड- १९ बाट आर्थिक रुपमा कमजोर भएका आम नागरिकहरु माथि सरकारले हालै गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आम नागरिक झन् मर्कामा परेका छन् । आम नागरिकको दैनिक जीवनसँग सरोकार राख्ने पेट्रोलियम पदार्थको मूल्य वृद्धि तुरुन्त फिर्ता लिन सरकारसँग माग गर्दै उपभोग्य वस्तु लगायतमा झनै महंगी बढेकोमा सरकारप्रति विरोध प्रकट गर्दै ध्यानाकर्षण गराउने निर्णय गर्दछ ।

क्रियाशील सदस्यता छानविन समिति गठन बारे जानकारी

नेपाली कांग्रेसको विधानको धारा २५(९) बमोजिम क्रियाशील सदस्यता छानविन समितिको संयोजकमा रमेश लेखक र सदस्यहरुमा- आनन्दप्रसाद ढुंगाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरीलाई सभापतिज्यूले मनोनयन गर्नु भएको व्यहोरा महामन्त्री पूर्णबहादुर खड्काले बैठकलाई जानकारी गराउनु भएको थियो ।

शोक एवं समवेदना

नेपाली कांग्रेस गुल्मीका पूर्व सभापति एवं पूर्व सांसद भागवत ज्ञवालीको निधनको एक वर्ष पुगि रहँदा सो परिवारमा पुनः मृत्युको शोक परेकोमा बैठकले गहिरो दुःख व्यक्त गरेको छ । उहाँको माता दुर्गादेवी ज्ञवालीको माघ २३ गते र धर्मपत्नी विश्वेश्वरी ज्ञवालीको माघ २७ गते तथा नेपाली कांग्रेस बाजुरा जिल्ला साविक जगन्नाथ गाविसका २०५४ को स्थानीय निर्वाचनमा अध्यक्षका प्रत्यासी मोतिलाल भण्डारीको फागुन २ गते र कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ३० का पार्टीका सक्रिय व्यक्तित्व सोमलाल तझ्याको माघ २० गते निधन भएको छ । उहाँहरुको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै आत्माको चिर शान्तिको कामनाका साथ सबै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछ ।

बैठकमा धारणा व्यक्त

बैठकमा कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु- प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, बलबहादुर के.सी., रमेश रिजाल, अर्जुनप्रसाद जोशी, शंकर भण्डारी र ईश्वरी न्यौपानेले आफ्नो धारणा राख्नु भएको थियो ।

जय नेपाल !

कृष्णप्रसाद पौडेल

मुख्य सचिव

प्रतिक्रिया