

‘कस्टडी’मा रहेका अभियुक्त दिनेशले दिएको ‘लोकेशन’मा भेटियो भागरथी भट्टको घडी

काठमाडौं – हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टले हत्या भएको दिन लगाएको घडी प्रहरीले घटनास्थलमा फेला पारेको छ।
प्रहरीका अनुसार कस्टडीमा रहेका हत्या अभियुक्त दिनेश भट्टले दिएको लोकेशनका आधारमा भागरथीले लगाउने गरेको रातो रंगको घडी फेला परेको हो।
हत्या अरोपमा प्रहरीले भागरथीकै सहपाठी दिनेश भट्टलाई पक्राउ गरेर बुधबार सार्वजनिक गरेको थियो। हत्यापछि आफूले घडी फ्याँकेको लोकेशन दिनेशले बयानका क्रममा प्रहरीलाई भनेका थिए।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख नायव उपरिक्षक (डिआइजी) उत्तम सुवेदीका अनुसार दिनेशको बयानका आधारमा प्रहरीले घडी फ्याँकेको स्थानमा सर्च गरेको थियो।
२१ माघमा विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी भागरथीको २२ माघमा दोगडाकेदार गाउँपालिकाको लबलेक सामुदायिक वनमा हत्या गरेको अवस्थामा शव फेला परेको थियो। उनको मोबाइल फोन भेटिए पनि घडी भेटिएको थिएन।
भागरथीको जुत्ता भेटिएको ठाउँबाट पश्चिमतर्फ रहेको खोल्सामा घडी फालेको बताएपछि प्रहरीले खोजी गर्दा फेला पारेको डिआइजजी सुवेदीले बताए। १३ दिनसम्म डिआईजी सुवेदी आफैं अनुसन्धानमा खटिएका थिए।

