

जनता र राजाको सहमतिलाई निषेध गर्दा मुलुक जटिलतामाः पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले जनता र राजाको सहमतिले खडा भएको नेपाललाई निषेध गरेका कारण अहिले जटिलता देखा परेको बताएका छन्।
७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा पूर्वसन्ध्यामा विहीबार शुभकामना वक्तव्य जारी गर्दै उनले भनेका छन्,‘नेपाल रक्षाको अस्तित्व पनि सहमतिले मात्र हुने कुराको अवज्ञा गरी निषेध र विभेदको राजनीति सुरु गर्दा मुलुक जटिलतामा पुगेको हो।’
उनले प्रजातन्त्र भनेको भनेको आवधिक निर्वाचन र दल विशेषका नेताहरूको शासन प्रणाली मात्र नभएर जीवन पद्धती समेत भएको जिकीर गर्दै भनेका छन्,‘हरेक नागरिकले पाउने सन्तुलित खुशीमा मात्र प्रजातन्त्रको प्राण अटुट हुन्छ।’
यसमा राष्ट्रको प्रतिष्ठा बढाउन हामी कति समर्थ भएका छौं? भन्ने प्रश्न राख्दै उनले भनेका छन्,‘सबैले मातृभूमीको माटो छातीमा राखेर आत्मसमिक्षा गर्ने बेला आएको छ।’
उनले प्रजातन्त्र प्राप्तिको ७० बर्षमा आएर पनि अहिले प्रजातन्त्रकै विषयको बहस, द्वन्द्व र विवादमै ग्रस्त रहेको उल्लेख गर्दै वक्तव्यमार्फत जोडेका छन्,‘प्रजातन्त्रमा जनशक्ति र जनसम्मति नै विशिष्ट हो। जनताको आस्था, चाहना र जनभावना अन्ततः अमिर रहन्छ। यसलाई मेट्न र बटार्न खोजेर मेटिँदैन, बटारिँदैन।’

