एनआइसी बैंकद्वारा बोनस सेयर र नगद लाभांशको प्रस्ताव
काठमाडौं – एनआइसी एसिया बैंक लिमिटेडले आर्थिक वर्ष ०७६/७७ को बोनस सेयर र नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । मंगलबार बसेको बैंकको ४६०औं सञ्चालक समितिको बैठकको निर्णयानुसार आर्थिक वर्ष ०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २० प्रतिशत लाभांश १ अर्ब ९४ करोड ३५ लाख वितरण गर्ने प्रस्ताव बैंकले गरेको हो ।
उक्त प्रस्तावित लाभांशमध्ये १९ प्रतिशत बोनस सेयर १ अर्ब ८४ करोड ६३ लाख र १ प्रतिशत नगद लाभांश ९ करोड ७२ लाख लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय बैठकले गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २३औं वार्षिक साधारण सभाको स्विकृतिपश्चात् आवश्यक नियमनकारी प्रक्रिया पूरा गरी सेयरधनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ ।
बैंकका अनुसार आर्थिक वर्ष ०७६/७७ मा प्रतिसेयर आम्दानी ३१.८९ र खुद मुनाफातर्फ वार्षिक बिन्दुगत आधारमा २.४९ प्रतिशत अर्थात ७.५२ करोडको वृद्धिसहित ३ अर्ब ९ करोड आर्जन गर्न सफल भएको थियो । बैंकको स्व–पुँजीमा प्रतिफल १९.२६ प्रतिशत रहेको र मुलुकका निजी क्षेत्रका बैंकहरूमध्ये स्व–पुँजीमा प्रथम बैंक रहन सफल भएको बैंकको जिकिर छ । साथै बैंकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ गत आर्थिक वर्षको अन्त्यमा बजार अंश ६.२० प्रतिशत रहेको छ भने वार्षिक बिन्दुगत आधारमा ३८ अर्बले वृद्धि गरी २ सय ११ अर्ब पुर्याउन सफल भएको बैंकले जनाएको छ ।
बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रही उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएकाले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब १ अर्ब ८७ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता दुर्गम जिल्लाहरूमा ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेका बैंकले जनाएको छ ।