निर्वाचन आचारसंहिताबारे आयोगद्वारा राजनीतिक दलसँग छलफल, के भयो कुराकानी ?


काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०७७ का सम्बन्धमा विभिन्न राजनीतिक दलदलका प्रतिनिधिसँग छलफल गरेको छ । आईतबार आयोग परिसरमा आयोजित छलफलमा विभिन्न १४ वटा राजनीतिक दलका प्रतिनिधिहरु सहभागी थिए ।

आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र विश्वासनीय तुल्याउन तयार गरिएको आचारसंहिताको मसौदाउपर सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

राजनीतिक दलका अधिकांश प्रतिनिधिले निर्वाचन आयोगले आचारसंहिता जारी गरेपनि आचारसंहिता पालना भए नभएको अनुगमन चुस्त हुन नसकेको तथा आचारसंहिता उल्लघंन गर्नेमाथि कारवाही गर्ने नगरेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराएका थिए ।

उनीहरुले आचारसंहिता कडाईका साथ कार्यान्वयन गराउन र उलंघन गर्नेहरुमाथि विद्यमान व्यवस्थाअनुसार कारवाही गर्न पनि माग गरे । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि तयार गरेको निर्वाचन आचारसंहिताको मस्यौदामाथि राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको छ ।

छलफलमा सहभागी नेता लिलामणि पोखरेलले आफैले निर्वाचन घोषणा गरेर आफै आचारसंहिताको उलंघन गर्ने सरकारप्रति आयोग मौन बसेकाले उसको भूमिका प्रति शंका उब्जिएको प्रतिक्रिया दिए । उनले मुलुकको कार्यकारी प्रमुखले स्वतन्त्र र संबैधानिक निकायमा आएर ‘यो गर रत्यो नगर’ भन्नु गलत भएको भन्दै प्रधानमन्त्रीलाई आयोगले बोलाएको कि आफै आएको रु भनी प्रश्न गरे ।

उनले भने, ‘खर्च व्यवस्थापनलाई नियन्त्रण गरेको छ, त्यो गर्दा गर्दै पनि हेलिकोप्टर चार्टर गरेर प्रचारमा जान पाउने व्यवस्था गरिएको छ, आचारसंहिता उल्लङ्घन गरेमा रु एक लाख जरिवाना र उम्मेदवारी पनि खारेज गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।’

मुुलुकको ६४ प्रतिशत मत प्राप्त गरेको राजनीतिक दल नेकपाभित्रको विवाद निरुपण नभई निर्वाचन अघि बढ्न नसक्ने कुरा आयोगसमक्ष आफूले प्रारम्भमै राखेर त्यसको जवाफ खोजेको नेता पोखरेलले जानकारी दिए ।

नेपाली काँग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले आचारसंहितामाथिको छलफलको क्रममा विभिन्न सरकारी कार्यालय तथा आयोगमा नियुक्ति, बढुवा, सरुवालगायत काम नियमित प्रक्रियाको बहानामा गर्न नहुने भएकाले त्यस तर्फ ध्यान दिन आयोगको ध्यानाकर्षण गराएको बताए ।

छलफलमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशील श्रेष्ठले आचारसंहिताको पूर्ण परिपालन गर्न आयोगको ध्यानाकर्षण गराएको बताए । आजसम्म आचारसंहिता उल्लंघन गरेकालाई कहिलेकाही कारवाही नगरिएको भन्दै उनले अक्षरशः आचारसंहिता पालना गराउनेतर्फ सक्रिय बन्न आयोगलाई सुझाव दिएको जानकारी दिए ।

निर्वाचन आयोगले आईतबार निर्वाचन आचारसंहिता २०७७ माथि दलहरुसँग छलफल गरेको हो । आयोगले विगतको भन्दा विस्तृत रुपमा आचारसंहिता निर्माण गरिएको जनाएको छ । आचारसंहितामा निर्वाचन प्रचार सामाग्री र खर्च व्यवस्थापनलाई नियन्त्रित गरेपनि हेलिकप्टर चार्टर गरेर निर्वाचन प्रचारमा जान सक्ने व्यवस्था राखेको छ ।

प्रतिक्रिया