डिएसपी बढुवाः शक्तिकेन्द्रमार्फत दबाब दिँदा निर्णय गर्न आईजीलाई सकस


काठमाडौं – बसन्त बहादुर कुँवरले नेपाल प्रहरीको नेतृत्व सम्हालेपछि संगठनमा रिक्त रहेको पदमा बढुवा गर्ने कार्यलाई प्राथमिकता दिएर अघि बढेका थिए । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), नायब महानिरीक्षक (डिआईजी), बरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी उपरीक्षक (एसपी)सम्मको बढुवा भटाभट निकाले ।

२९ वैशाखमा २२ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई एसपी बढुवा गर्न सिफारिस भएको थियो । अब बढुवाको पालो छ प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट डिएसपी । भटाभट रिक्त दरबन्दी पदपूर्ति हुने भयो भनेर खुसी भएका इन्स्पेक्टरहरु बढुवाको सिफारिसको काम नै सुरु नभएपछि यतिबेला निराश जस्तै बनेका छन् ।

नेपाल प्रहरीमा ४४ डिएसपी पद रिक्त भएको हप्ता दिनभन्दा बढी भइसकेपछि बढुवाका प्रत्यासीहरु पुरानै परिस्थिति दोहोरिन लाग्यो भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् । बढुवा ढिलो हुनुको कारण रिक्त दरबन्दी थोरै र आकांक्षी धेरै । जसले गर्दा प्रहरी नेतृत्वले समेत निर्णय गर्न नसकेको प्रहरी प्रधान कार्यालयमा चर्चा हुने गरेको छ ।

बढुवाको लागि एउटै टोलीबाट सयौंको संख्यामा प्रतिस्पर्धीहरु छन् । रिक्त पदको लागि एक सय ४४ जना प्रतिस्पर्धीको रस्साकस्सीको कारण डिएसपी बढुवामा ढिलाई भएको बताइन्छ । संख्या धेरै बढुवा गर्नुपर्ने थोरै पद भएकाले बढुवा पेचिलो बनेको प्रहरी महानिरीक्षक (आईजी) कुँवरको सचिवालयमा कार्यरत एकजना प्रहरी अधिकृतले बताए ।

२०७० सालमा भर्ना भएको इन्सपेक्टरको टोली अहिले बढुवाको प्रतिस्पर्धामा छ । त्यसमाथि सबै प्रतिस्पर्धीहरु कहिँ न कतैबाट शक्तिकेन्द्र धाएर बढुवामा दबाब दिँदा अफ्ठ्यारो भइरहेको ती अधिकृत बताउँछन् । जसकारण नियमित बढुवाको सूची बनाउन आईजी कुँवर र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अफ्ठ्यारो भएको हो ।

आकर्षक पोष्टिङमा बसेका इन्स्पेक्टरहरू पैसा नै बुझाएर भए पनि बढुवा हुन तयार देखिएको बताइन्छ । स्रोतका अनुसार जसरी पनि बढुवा हुनकै लागि भनेर कतिपय प्रत्यासीहरु लागिपरेको अवस्थामा बिचौलियाहरुले ५ लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म उठाइरहेको छ । यसले कतै राम्रा अधिकृत छुट्ने पो होइनन् कि भन्ने प्रश्न उब्जिएको छ ।

पैसाकै चलखेल गरेरै भएपनि बढुवा हुने प्रयासमा रहेका अधिकृतहरुको कारण पनि बढुवा लम्बिएको स्रोत बताउँछ । डिएसपी र एसपीमा बढुवा गर्दा वरियताकै आधारमा गरिएको थियो । तर, बढुवाको लागि मरिहत्ते गर्ने अधिकृतहरुको कारण इन्सपेक्टरबाट डिएसपीमा भने बरियता कायम नहुने भएको छ ।

त्यतिमात्र नभएर डिएसपीबाट एसपी बढुवा गर्दासम्म बरिष्ठताका आधारमा गरेको भन्ने मन्त्री श्रेष्ठका सचिवालयका कर्मचारी, दाजुभाई र भतिजाहरुले इन्स्पेक्टरको बढुवामा भने ०७० को टोलीसँग मात्र नभएर वैकल्पिक टोलीसँग समेत डिल गरेको चर्चा छ । त्यसैले डिएसपी बढुवामा बरिष्ठता र राम्रालाई भन्दा आर्थिक चलखेलका आधारमा गरे भने मन्त्री श्रेष्ठ विवादित पात्रको रुपमा चिनिनेछन् ।

त्यस्तै इन्स्पेक्टर बढुवामा बरिष्ठताका आधारमा होइन, जसले बढी कबोल गर्छ तिनैलाई एकदेखि दस नम्बरभित्र पार्नका लागि मन्त्री श्रेष्ठको सचिवालय टिमले होमवर्क समेत गरिरहेको बताइन्छ । गृह मन्त्रीका ‘नजिकका’हरूले डिएसपी बढुवाको सूचीमा रहेका इन्स्पेक्टरहरुको नामावली मागेर डिल गरिसकेको स्रोतको दाबी छ । सोही टिमसँगको सम्पर्कमा पुगेका आकांक्षी इन्स्पेक्टरहरुमध्ये कतिपय ढुक्क भइसकेका छन् भने नपुगेकाहरु पुग्ने कोसिसमा छन् ।

डीएसपी बढुवाका लागि आर्थिक चलखेलको प्रस्तावका साथै दौडधूप गर्नेहरुमा आकर्षक कार्यालयमा कार्यरत विवादित र कारबाहीमा परेका इन्स्पेक्टरहरु अगाडि देखिएका छन् । लेनदेनदेखि बिभिन्न विवादमा परेका इन्स्पेक्टरहरुले मन्त्री श्रेष्ठ निकटकालाई भेटेर बार्गेनिङ गरेको स्रोतको दाबी छ ।

बढुवाका आकांक्षीमध्ये गत साउनमा जम्मा २२ जनालाई डिएसपी बनाउने तारतम्य मिलाइएको थियो । तर आकांक्षीको सूची लामो भएकाले बाँकीले विद्रोह गर्नसक्ने सम्भावना रहेको सूचना आएपछि एकाएक बढुवा थाती राखियो । यसपटक गत वर्षको दोब्बर अर्थात् ४४ जनालाई डिएसपीमा बढुवा गर्ने तयारी छ ।

प्रतिक्रिया