

१ वर्षमा बालेनको काठमाडौंः फोहोरबिहीन सडकदेखि सम्पदा संरक्षणमा जोडसम्म

आज जेठ १ गते । आजभन्दा ठिक एक वर्ष अघि यतिबेला देशभरका स्थानीय तहहरुमा नयाँ नेतृत्वका लागि मतगणना भइरहेको थियो । देशभरका स्थानीय तहमध्ये नयाँ नेतृत्वका लागि सबैभन्दा चर्चाको शिखरमा थियो –काठमाडौं महानगरपालिका ।
संघीय राजधानी रहेको महानगरका सडक गल्लीहरु फोहोरले भरिएका थिए । कैयौं दिनसम्म फोहोरहरु उठ्न सकेका थिएनन् । महानगरबासीले घरबाट निकालेर फोहोर सडकमा थुप्राउन थालेका थिए भने महानगरले व्यवस्थापनका लागि केही पनि गर्न सकेको थिएन । त्यही समस्यालाई प्रमुख मुद्दा बनाएर चुनावी मैदानमा उत्रिँदै स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र (बालेन) साह बलिया र स्थापित उम्मेदवारहरुबीच भारी बन्दै थिए । ३१ वर्षे युवा जो महिनौंदेखि फोहोरमा डुबेको राजधानीलाई सफा बनाउँछु भनेर सहरका चोक, गल्लीमा जाँदै गर्दा महानगरका मतदाताले आशा सँगै विश्वास पनि गरे ।
भोट हाल्न जाँदा फोहोरका कारण नाक छोप्दै जान बाध्य मतदातालाई बालेनले गरेको प्रतिबद्धतामा विश्वास रहेछ, आखिर उनले सदियौंदेखि काठमाडौंमा आधिपत्य जमाएर बसेका पुराना राजनीतिक दलका ‘बाघ’ जस्ता उम्मेदवारलाई विशाल मतान्तरले पराजित गरे ।
जनताले थमाइदिएको महानगरको साँचो लिएर मैदानमा उत्रिएका बालेनले फोहोर व्यवस्थापनका लागि हदैसम्मको काम गरे । जसका लागि संघीय सरकारदेखि फोहोर विश्रामस्थलका सर्वसाधारणसँग उनले प्रत्यक्ष भेट गरे । प्रयास गरे, निर्णय गरे अनि कार्यान्वयन गरे । त्यसको नतिजा अहिले महानगरबासीले पाइरहेका छन् ।
ठीक एक वर्ष पछाडि आज जेठ १, राजधानीका सडक उही हुन्, तर फरक छन् । राजधानीका हरेक चोक–चोक र गल्लीहरुमा त्यतिबेला थुप्रिएको फोहोर यसपटक देखिएको छैन । जेठ नलाग्दै राजधानीका खोला–नाला सफा गरिन लागेको छ, जसले गर्दा वर्षा याममा खोला भरिएर किनारका बस्तीमा पस्ने समस्यामा पक्कै कमी आउनेछ ।
बालेन आएसँगै राजधानीबासीहरुले पनि कर्तव्यबोध गर्न लागेको देखिएको छ । उनीहरुले घरमा रहेको फोहोर चोकमा ल्याएर फाल्ने गरेका छैनन् अनि महानगरबासीको घरबाट फोहोर उठाउनेहरुले बाटोमै थुपार्ने गरेका छैनन्, घरबाट उठाएको फोहोरलाई अन्तिम गन्तव्यस्थलसम्म सिधै पुर्याउने व्यवस्था गर्नु फोहोर सडकमा नथुप्रने उपाय हो । त्यसको प्रत्यक्ष प्रमाण अहिलेको राजधानीका चोक, सडक र गल्ली हुन्, जहाँ अघिल्ला वर्षहरुमा देखिने फोहोरका थुप्राहरु अहिले देखिँदैन ।
त्यसबाहेक मेयर बालेनले राजधानीको विकासका लागि आफूले अध्ययन गरेको योग्यतालाई पनि प्रयोग गरेका छन् । टुकुचा खोला उत्खनन प्रक्रियामा आक्रामक रुपमा प्रस्तुत भएका बालेनले बेलाबखत संघीय सरकारको साथ नपाएको तिक्तता पनि सामाजिक सञ्जालमार्फत् पोख्ने गरेका छन् । त्यसका साथै बागमती किनारका सुकुम्बासी समस्या समाधानका लागि उनले गरेका कतिपय प्रयासहरु अहिलेसम्म सफल हुन सकेका छैनन् ।
राजधानीको विकासका लागि आक्रामक रुपमा उत्रिएका बालेनले सुरुवाती दिनमा अन्य जनप्रतिनिधिहरुबाट पनि खासै साथ र सहयोग पाएका थिएनन् । तर, राजधानीको विकासका लागि अडिग बालेनको अगाडि जनप्रतिनिधिहरुको केही लागेन र समर्थनमा जुटे । जसले गर्दा उनको योजना अगाडि बढ्दै गयो ।
उपत्यकाको सम्पदा र संस्कृति संरक्षणलाई अर्को प्रमुख मुद्दा बनाएका बालेनकै कारण महानगरभित्रका हिटी, ढुंगे धाराका साथै विशेष रुपमा नेवा जनसमुदायको संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि दीर्घकालीन योजना निर्माणमा लागेका छन् ।
पछिल्लो समय फोहोरबाट उन्मुक्ति पाएको राजधानीका पैदल यात्रुका लागि सडकपेटीहरु रंगीन बन्न थालेका छन् । पैदल यात्रुका लागि सहजका साथै आकर्षक देखिने गरि राजधानीका सडकपेटी बनाइएका छन् ।
प्रशासनिक कामका लागि हरेक वडा कार्यालयहरुमा प्रविधिको उपयोग गर्दै अनलाइनबाटै अधिकांश काम हुने व्यवस्था पनि सकारात्मक पाटो हो । त्यसका साथै हरेक वडाहरुमा कानुनी परामर्शका लागि कानुनका ज्ञाताको उपस्थिति रहनु अर्को सुखद् पक्ष हो ।
त्यसका साथै महानगरका निजी तथा सामूदायिक विद्यालयहरुका लागि उनले गरेको निर्णय कार्यान्वयन भएमा विद्यार्थीहरुले प्रयोगात्मक एवं प्राविधिक शिक्षा लिनसक्ने देखिएको छ ।
सडक पेटीमा पसल राख्नेहरु विस्तारै व्यवस्थित हुँदै गइरहेको अवस्थामा मानिसहरुको मानसिकता पनि केही परिवर्तन भएको देखिएको छ । पहिला पहिला फोहोर बोकेर चोक–चोक पुग्ने मानिसहरु आजभोली केही दिनसम्म घरमै व्यवस्थित गर्नसक्ने भएका छन् । फोहोरकै मुद्दा समाधानका लागि संघीय सरकारले बेवास्ता गरेका कारण सिंहदरबार र राष्ट्रपति कार्यालयसम्मको फोहोर नउठाउने घोषणा गरेका बालेनलाई सर्वोच्चको आदेशले मात्रै फोहोर उठाउन बाध्य बनायो । देशको मुख्य प्रशासनिक केन्द्रमा फोहोर नउठाउने उनको निर्णय महानगरको कार्यक्षेत्रमा संघीय सरकारले गरेको बेवास्ताको कारक थियो । र, सर्वोच्चको आदेशपछि फाल्नु चाहिँ कर्तव्यबोध ।
सदियौंदेखिको समस्यालाई चुट्कीको भरमा समाधान हुनुपर्छ भन्ने दूषित मानसिकताबाट गुज्रिएका केही बुज्रुकहरुलाई बालेनले एक वर्षभित्र राम्रो पाठ सिकाएका छन् । केही गरौं भन्ने प्रतिबद्धता लिएर अगाडि बढेमा एक व्यक्तिले पनि राम्रै काम गर्नसक्दोरहेछ भन्ने उदाहरण बालेनले पुष्टी गरेका छन् । अझै उनीजस्तै जनप्रतिनिधिहरुले पनि आ–आफ्नो स्थानबाट कर्तव्यबोधका साथ अधिकारसहित काम गरेमा मुलुक विकास हुन कसैले रोक्न सक्दैन भन्ने कुरा महानगरबाट पुष्टी भइसकेको छ ।
निर्वाचित भएको एक वर्षभित्र केही हुनु–नहुनुभन्दा पनि हुन्छ कि भन्ने आशाका किरण देखाउन बालेन सफल भएका छन् । त्यसमा महानगरका ३२ वटै वडाका जनप्रतिनिधि, कर्मचारीका साथै महानगरमा स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने हरेक मानिसले बुझ्नुपर्दछ ।

