उडान विस्तार गर्दै यती एयरलाइन्स, थप कति जहाज ?
काठमाडौं – निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले जहाज थपेर उडान विस्तार गर्ने योजनामा जुटेको छ । यतीले आन्तरिक उडानमा थप नयाँ एटिआर–७२ जहाज भित्र्याएर गन्तव्यका साथै उडान सङ्ख्या बढाउने भएको हो ।
यतीको एटिआर जहाज सम्भवतः यही महिनाभित्र काठमाडौँ आइपुग्नेछ । योसहित यतीसँग छ थान एटिआर जहाज हुनेछन् । कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीपछि खुलेको आन्तरिक उडानमा यतीले तीन एटिआर जहाजमार्फत आन्तरिक उडान गरिरहेको थियो ।
आगामी मार्चदेखि यतीले हाल भएका पाँचवटै एटिआर जहाज उडाउनेछ । थपिएको एटिआरले पनि छिट्टै उडान भर्ने कम्पनीको योजना छ ।
जहाज थपिएपछि मार्च महिनाबाट पूर्ण क्षमताका साथ आन्तरिक उडान हुने यती एयरलाइन्सका हवाई सुरक्षा विभाग प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । यतीले हाल नौ गन्तव्यमा उडान भर्दै आएको छ ।