आईजी कुँवरको बोल्ड निर्णय : खनाललाई न्यानो न्याय !


काठमाडौं – नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको बुधबार बसेको बैठकले १३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

उक्त बढुवा सिफारिस हुनेहरुमा १०८ र ११० का टोलीहरु रहेका छन् । १०८ टोली भन्नाले हालका प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरका ब्याची हुन् । डीआईजी बढुवा सिफारिसमा ७ जना आईजी कुँवरका ब्याची परेका छन् भने बाँकी ६ जना ११० टोलीका हुन् ।

ब्याचमेटहरु आईजी र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हुँदै गर्दा कतिपय अधिकृतलाई एसएसपीबाटै घर जाने डर थियो । बढुवाको १३ औं नम्बर सूचीमा परेका एसएसपी विकासराज खनाललाई पनि त्यहि डर थियो – पद रिक्त भएपनि समयमा बढुवा नहुँदा कतै एसएसपीबाटै घर जाने त होइन ?

खनाल यसअघि दुई पटकसम्म भएको बढुवा डीआईजी सिफारिसमा परेनन् । बरु जुनियर अधिकृत बढुवा हुँदा उनी छुटिरहे । कारण थियो – प्रहरी सेवामा प्रवेश गर्दा सिनियर रहेका खनाल एसएसपी बढुवामा सबैभन्दा जुनियर थिए । जतिबेला उनी बढुवाको प्रतिस्पर्धीमै थिएनन् ।

तर, उनै खनाललाई अहिले केही राहत मिलेको छ । ब्याचमेट आईजी कुँवरले खनाललाई डीआईजी बढुवामा न्याय दिएको चर्चा छ प्रहरी संगठनमा । खनालालाई न्याय मिलेको भन्दै सामाजिक सञ्जालहरुमा बधाई दिनेहरुको ओइरो छ । धन्य–धन्यको बढुवाले खनालको सहानुभूति र खुसी सामाजिक सञ्जालमा छाइरहेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) मा कार्यरत रहेका खनाल आफ्नो ब्याचमा अब्बल प्रहरी अधिकृतका रुपमा परिचित थिए । प्रहरी संगठनमा अब्बल मानिएका खनाल आफ्ना ब्याचमेटभन्दा पनि पछाडि डीआईजीमा बढुवा सिफारिस हुनुको पछाडि अर्कै कारण छ । उनको व्यथा आफैसँग छ ।

चार वर्षअघि एउटा चर्चित काण्डमा जोडिएर चर्चामा रहेका खनाल बीचमा गुमनाम जस्तै थिए । तर, लामो समयपछि खनालको नाम फेरि चर्चामा छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरको प्रमुख भएको बेला खनालमाथि ठूलो बज्रपात आइलाग्यो । त्यतिबेला खनाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको तस्करीको सुनकाण्डमा तानिएको थियो ।

जबकी खनाल साढे दुई बर्षअघि नै विमानस्थलबाट सरुवा भइसकेका थिए । विमानस्थलमा रहेको बेला खनालको सुन तस्करसँग कनेक्सन रहेको भन्दै २६ महिनापछि नाम जोडिएर आएको हो ।

नखाएको विष लागेपछि खनाललाई डीआईजी बनाउनुपर्ने भन्दै एआईजी रहेका ब्याचीहरु समेत लागिपरेको बताइन्छ । आईजी कुँवरले समेत खनालको विषयमा आफ्ना ब्याची (एआईजी) हरुसँग छलफल समेत गरेका थिए । सबैले सहमति जनाएपछि गृहमन्त्री र गृहसचिव समेत सकारात्मक रहेको प्रधान कार्यालय स्रोतको दाबी छ ।

उक्त घटनाले सामाजिक सञ्जालदेखि मिडियासम्म ठूलो रुप लिएपछि गृह मन्त्रालयले छानविन गर्न सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिको सिफारिसमा आवश्यक अनुसन्धान गरी कारबाही अगाडि बढाउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्यो ।

छानबिन समितिको सिफारिसमै खनाल १२ वैशाख २०७५ मा पक्राउ परे । प्रहरीको उच्च तहमा पुगिसकेका व्यक्तिमाथि अनुसन्धान हुने भएपछि गृह मन्त्रालयको सिफारिसमा प्रहरी प्रधान कार्यालयले १६ वैशाख देखि लागू हुनेगरी तत्कालिन प्रहरी उपरीक्षक (एसपी) खनाललाई निलम्वन नै गर्यो ।

तस्करीबाट भित्रिएको ३३ केजी सुन हराएपछि १८ फागुन २०७४ मा सुन तस्करका मूख्य अभियुक्त गोरे भनिने चुडामणी उप्रेतीसहितको समूहले उर्लाबारीको जंगलमा सनम शाक्यको हत्या गरेको थियो । उक्त हत्यालाई ढाकछोप गर्न प्रहरीकै अधिकारीको मिलेमतो रहेको दावीसहित पौडेल नेतृत्वको समितिकै सिफारिस अनुसार एसपी खनालविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

उनीमाथि अदालतमा कर्तव्य ज्यान र संगठीत अपराध कसूरमा मुद्दा दायर गरिएको थियो । सोहीअनुरुप तत्काल प्राप्त प्रमाणका आधारमा ८ जेठमा खनाललाई दोषी देखिएको भन्दै जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दियो ।

तर, जिल्ला अदालतको आदेशमा चित्त नबुझेपछि उनले उच्च अदालत मोरङमा आफू विरुद्धको अभियोग अस्वीकार गर्दै सफाइको मागसहित निवेदन दिए । चार महिनापछि अर्थात २ असोजमा उच्च अदालतले खनालको पक्षमा फैसला सुनाउँदै छाड्न आदेश दियो । उच्च अदालत, मोरङका न्यायधीश नगेन्द्रलाल कर्ण र थिरबहादुर कार्कीको इजलासले उनलाई साधारण तारेखमा छोड्न आदेश दिएको हो ।

छाड्न आदेश दिएको पन्ध्र दिनपछि अर्थात १७ असोजमा मात्र उनको निलम्बन फुकुवा भयो । जतिबेला प्रहरी प्रमुख थिए, सर्वेन्द्र खनाल । त्यसपछि प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आवश्यक औपचारिक कारवाही पूरा गरेर निलम्बन फुकुवा गर्ने तालुकदार गृह मन्त्रालयमा पठाएको थियो ।

खनालको तत्कालै निलम्बन फुकुवा हुनुपर्ने भएपनि राजनीतिक खिचातानीको कारण पन्ध्र दिनपछि मात्रै फुकुवा गरिएको हो । जतिबेला तत्कालिन गृहमन्त्री रामबहादुर थापाले समेत कुनै वास्ता नै नगरेको खनालको आरोप छ । उल्टो खनाललाई थप अन्याय गरेको बताइन्छ ।

निलम्बन फुकुवासँगै उनी पुनः जागिरमा जोडिए । जागिरमा जोडिएको तीन वर्षपछि मात्र उनी एसपीबाट एसएसपीमा बढुवा भए । जतिबेला उनको अधिकांश ब्याचीहरु एसएसपीबाट डीआईजी बढुवाको लागि दौडधुप गर्न थालिसकेका थिए ।

एसएसपीमा ढिलै बढुवा भएपनि अहिलेको प्रहरी नेतृत्वले नियतवश सुनकाण्डमा फसाइएका खनाललाई डीआईजीमा बढुवा गर्नु उनलाई हल्का भए पनि न्याय मिलेको प्रहरी संगठनभित्र चर्चा छ । आईजी कुँवरले कुनैपनि हालतमा एसएसपी खनाललाई बढुवा गर्नुपर्ने भन्दै अड्डी कसेको बताइन्छ ।

सुनकाण्डको आरोपमा फसाइएका खनालको जागिरबाट निलम्बनदेखि ‘करिअर’मै ठूलो ब्रेक लागेको कुरामा जानकार आईजी कुँवरले ब्याचमेट मात्र नभएर अब्बल प्रहरी अधिकृतको पहिचान बनाएका खनाललाई बढुवा गरेर न्याय दिँदा संगठनभित्र पनि राम्रो सन्देश जाने बुझेपछि बोल्ड निर्णय गरेका हुन् ।

नखाएको विष लागेपछि खनाललाई डीआईजी बनाउनुपर्ने भन्दै एआईजी रहेका ब्याचीहरु समेत लागिपरेको बताइन्छ । आईजी कुँवरले समेत खनालको विषयमा आफ्ना ब्याची (एआईजी) हरुसँग छलफल समेत गरेका थिए । सबैले सहमति जनाएपछि गृहमन्त्री र गृहसचिव समेत सकारात्मक रहेको प्रधान कार्यालय स्रोतको दाबी छ ।

चैत २०५१ देखि नेपाल प्रहरीको सेवा सुरु गरेका खनालले सो अवधिमा मानसिक तनाव, सामाजिक अवहेलना खेप्नुपर्यो । उनले डीआईजी त पाए, तर उनको त्यहाँभन्दा माथि जाने सम्भावना साँघुरिएको छ । किनकि पद रिक्त नै भएपछि उनीभन्दा १९ जना सिनियर डिआईजीहरु छन् ।

 

प्रतिक्रिया