

तास खेलिरहेको अवस्थामा १८ जना जुवाडे पक्राउ

काठमाडौं – नेपाल प्रहरीले पोखरा र दाङमा गरी १८ जना जुवाडेलाइ पक्राउ गरेको छ । उनीहरूसँग २ लाख ७९ हजार ७ सय ५० र ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कास्कीस्थित पोखरा महानगरपालिका—९ नयाँबजार बस्ने कृष्ण लाल जोशीको घरमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१४ चाउथे बस्ने ४९ वर्षीय क्षेत्र बहादुर जिम्बा लगायत ११ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५९ हजार ७ सय ५० रुपैयाँ र तास सहित पक्राउ गरेको हो ।
त्यस्तै दाङको घोराही उपमहानगरपालिका–९ टेघरा बस्ने प्रज्वल शाहको घरमा तास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–२ रामपुर बस्ने २३ वर्षीय रोहन खाती लगायत ७ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख २० हजार रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

