

नगरपालिकाको रकम हिनामिना गर्ने लेखा अधिकृतविरुद्ध आरोपपत्र दायर

काठमाडाैं – होटलहरूको फर्जी बिल तयार गरी रकम हिनामिना गरेको आरोपमा पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहन बहादुर बुढाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
२०७८ माघ महिनादेखि २०७९ जेठ मसान्तसम्म विभिन्न खर्च शीर्षकबाट खर्च लेखी विभिन्न होटलका फर्जी बिल तयार गरी रकम हिनामिना गरेको उजुरीका आधारमा उनीमाथि अख्तियारले आरोप पत्र दायर गरेको हो।
बुढाले होटल सञ्चालकसँग खाली बिल लिई उक्त खाली बिलमा किर्ते बिल भरपाई तयार गरेको अख्तियारको आरोप छ। प्रमुख प्रशासकीय अधिकृतको दस्तखत किर्ते गरी बुढाले २ लाख ६२ हजार ५ सय २ रुपैयाँ भुक्तानी दिएको अख्तियारको ठहर छ।
बुढालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिम कसुरमा बिगोवापत उक्त रकम र ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद सजाय र बिगोबमोजिम जरिवाना गरी उक्त बिगोसमेत असुलउपरको माग गरिएको छ।
साथै उक्त नगरपालिकाका अधिकृत छैटौं तहका लालबहादुर सुवेदीले झुट्टा बिल भरपाई बनाउन मतियार बनेकाले उनलाई पनि ऐनको दफा ८ को उपदफा (१) को खण्ड (ङ) को कसुरमा सजाय मागदाबी गरिएको छ।
साथै उक्त नगरपालिकाका अर्का अधिकृत(छैटौ)तुलसी केसीले समेतनगरपालिकाको शिक्षा शाखाबाट आयोजना हुने विज्ञ समूहको बैठक, परीक्षा समितिको बैठक र शिक्षा समिति बैठकहरूका लागि अधिकृत बुढालाई झुट्टा बिल भरपाई गरेको आरोपमा ऐनको दफा ८ को उपदफा (१)को खण्ड (ङ) बमोजिम मतियार मानिएको छ।

