

फेरि खुल्यो ३५ करोडको शेयर, पैसा जम्मा गर्नुभयो त ?

भर्खरै बाँडफाँड सकिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयर पश्चात अब फेरी नयाँ आइपीओ खुल्ने भइसकेको छ । ग्रीन लाईफ हाईड्रोपावर कम्पनीले यहि माघ २३ शुक्रबारबाट साधारण शेयर खुलाउन लागेको कुरा पाइपलाईनमा जानकारी दिइसकेको छ ।
कम्पनीले प्रति कित्ता रु १०० को दरले रु ३४ करोड ९६ लाख ४० हजार रुपैँया बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो । जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर प्रोमोटर शेयरहोल्डरहरुको लागि, ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो । यस शेयर आवेदनको लागि लगानीकर्ताले माघ २३ देखि माघ २७ सम्म कम्तीमा दश कित्ताको लागि र बढीमा एकलाख कित्ताको लागि आवेदन दिन पाउनेछन् । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।
जुनसुकै हाईड्रोपावरले दुईवटा चरणमा साधारण शेयर निष्कासन गरिरहेका हुन्छन्, जुन पहिलो चरणमा लोकललाई र दोश्रो चरणमा सर्वसाधारणलाई हो । ग्रीन लाईफ हाईड्रोपावरले पनि पहिलो चरणमा स्थानियको लागि १८ लाख कित्ताको लागि साधारण शेयर (आइपीओ) २०७५ फागुन २७ मा निस्कासन गरेको थियो तर त्यो बेलामा थोरैलाई मात्र शेयर ज्ञान भएकाले निस्कासन गरिएको जम्मा शेयरको ९४ प्रतिशत शेयर बिकेको थिएन ।
१८ लाख कित्ताको लागि आवेदन खुलेकोमा त्यसबेला १२१६ वटा डिम्याट खाताबाट १ लाख ३ हजार ६ सय कित्ता शेयरको लागिमात्र आवेदन परेको थियो र आवेदन परेको जति सबै शेयर बाँडफाँड पनि भएको थियो । दोश्रो चरणको लागि पनि कम्पनीले १८ लाख कित्तानै छुट्याएको थियो तर पहिलेको स्थानियको लागि बिक्री नभएको भाग १६ लाख ९६ हजार ४ सय कित्ता शेयर पनि अहिले सर्वसाधारणको लागि निष्कासन गर्न लागिएकोमा नै गाभिएको हुँदा अहिले कम्पनीले झण्डै ३५ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
शेयर परे नाफा कि घाटा त ?
सामान्यतया हाइड्रोपावरको नाम सुन्नेबित्तिकै लगानीकर्ताहरु मुख खुम्च्याउँछन् । नेपालमा भौगोलिक विकटता र अन्य बिबिध कारणबश कैयौँ हाइड्रोपावर कम्पनीले साधारण शेयरबाट पूँजी संकलन गरेको निकै पछि सम्म पनि बिजुली निकाल्ने काम सम्पन्न नभएकै कारण कम्पनी घाटामा गएको धेरैले सुनेकै छन् । यस्तै कारणले गर्दा हाइड्रोपावरमा लगानी गर्न सबैको हिच्किचाहट बढ्ने गरेको देखिन्छ । तर कोहि यस्ता हाइड्रोपावर पनि छन् जसले बिमा कम्पनीलाई पनि सजिलै उछिनेका छन् । यसको गतिलो उदाहरण हो, कुनै समय रु ३५०० प्रतिशेयर मूल्य पुगेको चिलिमे हाइड्रोपावर । समयमा काम सकिएर बिधुत्त निकाल्न सके हाइड्रोपावर पनि केहि कम छैनन् भन्ने गतिलो उदाहरण यस्तै धेरै हाइड्रोपावरले दिँदै आएका छन् ।
ग्रीन लाईफ हाईड्रोपावर कम्पनीको कुरा गर्नुपर्दा, यस हाईड्रोपावरको मेन प्रोजेक्ट खानीखोला १ हाईड्रोपावर हो । यो रन अफ द रिभर खालको प्रोजेक्ट हो, जसको अर्थ पानीलाई जम्मा पारेर नभई बगिरहेको खोलाबाट सिधै बिधुत्त निकाल्नु हुन्छ । यो दोलखा जिल्लामा सञ्चालनमा आउन लागेको प्रोजेक्ट हो, जसको लक्ष्य सुरु चरणमा २५ मेघावाट र दोश्रो चरणमा १५ मेघावाट गरी जम्मा ४० मेगावाट बिद्युत निकाल्ने रहेको छ । रन अफ द रिभर खालको प्रोजेक्ट हुनाले यस कम्पनीले चाँडै नै बिधुत्त निकाल्न सुरु गर्नेछ । त्यसैगरी कार्नेपले यसलाई बि प्लसको रेटिङ्ग दिएको छ जसको अर्थ हुन जान्छ यस कम्पनीको दायित्व पुरा गर्न उच्च जोखिम रहेको छ । सबै बिश्लेषण पश्चात सामान्य भाषामा भन्नुपर्दा यो कम्पनी धेरै राम्रो त छैन तर खासै नराम्रो पनि हैन त्यसैले बिचार गरेर मात्रै शेयर आवेदन दिऔँ । त्यसैले यसमा १ हजार भन्दा धेरै नभर्दा हुन्छ ।
कति कित्ताको लागि आवेदन दिने ?
हाल नेपाल घितोपत्र बोर्डको नियम अनुसार साधारण शेयरमा कम्तिमा पनि १० कित्ताको लागि आवेदन दिनैपर्छ । हाल दु्रत गतिमा बढेको डिम्याट खातालाई हेर्दा ग्रीन लाईफ हाईड्रोपावर कम्पनीले निष्कासन गर्न लागेको लगभग ३२ लाख ५० हजार साधारण शेयरको लागि प्रतिव्यक्ति १० कित्ता शेयरको लागि आवेदन दिँदा हुन्छ । सामान्य रुपमा हिसाब गर्दा पनि १५ लाखभन्दा बढी डिम्याट खाताको लागि २ कित्ताको दरमा पर्न आउँछ । कम्पनीले नियम अनुसार १० कित्ताका दरले लक्की ड्र मार्फत् सिमित लगानीकर्तालाई मात्र साधारण शेयर बिक्री गर्ने निश्चित रहेको छ ।

