

बन्चरो प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

कैलाली — कैलालीमा एक जनाले आफ्नै श्रीमतीको बन्चरो प्रहार गरी हत्या गरेका छन् ।
जिल्लाको टिकापुर नगरपालिका वडा न.१ गणेशपुर शिविर बस्ने ६० वर्षको भगीरथ जैशीले ५९ वर्षकी श्रीमती मुगादेवी जैसीलाई बन्चरोले हानेर हत्या गरेका हुन् । अघिल्लो महिना २८ गते विवादका कारण श्रीमतीको टाउकोमा उनले बन्चरो प्रहार गरेका थिए ।
बन्चरो प्रहारबाट घाइते भएकी जैसीलाई टीकापुर अस्पतालबाट थप उपचारका लागि कोहलपुर रिफर गरिएको थियो । कोहलपुरबाट घाइतेको आफन्तको अनुरोधमा मोहन्याल गाउँपालिका वडा न.७ ज्यामिरे लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
बन्चरो प्रहार गर्ने श्रीमानलाई पक्राउ गरी अनुसन्धान गरिरहेको भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले जानकारी दिए ।

