धादिङ वृद्ध दम्पती घटना : फ्रिफाएर गेम खेल्न मोबाइल चोरी गरी हत्या


धादिङ – धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-३ मूलपानीमा वृद्ध दम्पत्तीको हत्या गरी फरार रहेका दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ। मूलपानीको आहाले गाउँका ७४ वर्षीय विष्णुबहादुर आलेमगर र ६७ वर्षीया नीरमाया आलेमगरको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय धादिङले स्थानीय दुई किशोरलाई प्रेस मिट गरी आइतबार सार्वजनिक गरेको हो।

पक्राउ परेका किशोरहरूमध्ये एकजना १५ वर्षका र अर्का १३ वर्षका रहेका प्रहरीले जनाएको छ। उनीहरूले वृद्ध दम्पतीको हत्या गरी मोबाइल चोरी गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राकेश सिंहले जानकारी दिए। ‘ती बालकहरू कुलतमा फसेका रहेछन्,’ एसपी सिंहले भने, ‘अल्कोहल पिएको अवस्थामा उनीहरूलाई पक्राउ गरेका हौँ। जाँडरक्सी खाने गाउँमा अरूलाई धम्क्याउने क्रियाकलाप गर्दै आएका रहेछन्।’

प्रहरीका अनुसार अनलाइन गेम फ्रिफायर खेल्नलाई मोबाइल चोरी गरी उनीहरूले वृद्ध दम्पतीको हत्या गरेको खुलेको छ। वृद्ध दम्पतीको मंसिर २६ गते सोमबार बिहान घरमै शव फेला परेको थियो। घटनास्थलमै बसेर अनुसन्धानमा खटिएका प्रहरी टोलीले स्थानीय दुई किशोरलाई शुक्रबार नियन्त्रणमा लिएर थप अनुसन्धानपछि हत्या गरेको पुष्टि भएको एसपी सिंहले बताए।

वृद्ध दम्पतीलाई बन्चरो प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ। चोरी गरेको मोबाइल र वारदातमा प्रयोग गरेको बन्चरो प्रहरीले बरामद गरेको छ।

प्रतिक्रिया