

सुनका गरगहना चोरी भएको घटनामा संलग्न ६ जना पेस्तोल सहित पक्राउ

काठमाडौं – काठमाडौं महानगरपालिका-१८ नरदेवीस्थित सुन बनाउने कारखानाबाट विभिन्न सुनका गरगहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धादिङ खनियाबास गाउँपालिका(४ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका(२ गैरीगाउँ बस्ने ३८ वर्षीय मनिला तामाङ समेत ६ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
भारत घर भएका ३२ वर्षीय सेख मुस्तफा अली र ४५ वर्षीय गौतम माझीले संचालन गरेको उक्त कारखानाबाट गत कात्तिक २९ गते राति विभिन्न सुनका गरगहना चोरी भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
साथै मनिला तामाङको डेरा कोठा तलासी गर्दा घटनामा प्रयोग भएको प्रदेश ३-०२-००१प ६२१७ नम्बरको मोटरसाइकल, घटनामा प्रयोग भएको पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली ४ राउण्ड सहितको म्याग्जिन, जर्सी र ज्याकेट सहितको प्रहरी पोशाक १ जोर, नियन्त्रित लागूऔषध फेनारगन १ सय ९७ एम्पुल, डाईजेपाम १ सय ९७ एम्पुल र नुफिन १ सय ९७ एम्पुल समेत फेला पारी प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

