

कोरियाली अभिनेत्री सङ यो–जङको निधन, मृत्युको कारण खुलाइएन

काठमाडाैं – कोरियाली अभिनेत्री सङ यो–जङको निधन भएको छ। २६ वर्षकै कलिलो उमेरमा सङ योको निधन भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
उनको जनवरी २३ अर्थात् शनिबार निधन भएको बताइएको छ। यद्यपी हालसम्म उनको मृत्युको कारण खोलिएको छैन। उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ। यसअघि कोरियाली संचारमाध्यमले उनले आत्महत्या गरेको समाचार प्रकाशित गरेतापनि पछि हटाएका थिए।
सोमबार अभिनेत्री सङ योको अन्त्येष्टि गरिनेछ। उनले सन् २०१३ मा कस्मेटिक पदार्थको विज्ञापनमा मोडेलिङ गर्दै अभिनय यात्रा तय गरेकी थिइन्।
पछि उनले चर्चित रोमान्टिक ड्रामा गोल्डेन रेनबो, मेक योर विस, स्कुल २०१७ तथा सन् २०१९ मा डियर माइ नेमजस्ता टेलिभिजन नाटकमा पनि काम गरिन्।
उनले चर्चित कोरियाली गीतमा पनि अभिनय गरेकी छिन्। कलाकारितामा राम्रो छलाङ लिइरहँदा उनको निधन भएको हो।

