

आफ्नै कमाइले घर किन्ने सपना पुरा भयो : सोनाक्षी

मुम्बई – बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले बान्द्रा रिक्लामेशन क्षेत्रमा ‘४ बीएचके’ को आलिशान अपार्टमेन्ट खरिद गरेकी छन्। यो क्षेत्र मुम्बईको सबैभन्दा नजिकको क्षेत्रमा पर्छ। उनले पिंकभिलासँगको कुराकानीका क्रममा यस बारेमा जानकारी दिएकी हुन्।
बलिउडका विवाहित हुन् या अविवाहित कलाकार । उनीहरू, बलिउडमा सफल हुँदै गएपछि आफैले किनेको घरमा रमाउन चाहन्छन् । परिवारसँग अलग भएर आफ्नै दुनियाँमा रमाउने कलाकारहरूको संख्या बलिउडमा धेरै छ ।
रणवीर कपुर, आलिया भट्ट, जाहन्वी कपुर लगायतका कलाकारले गतबर्ष मुम्बइमा घर किनेका थिए । अब, यो सूचीमा नायिका सोनाक्षी सिन्हा पनि मिसिएकी छिन् । सोनाक्षीले आफूले सानैदेखि देखेको सपना पुरा गरेको प्रतिक्रिया भारतीय मिडियासँग दिएकी छिन् ।

उनले भनिन्, ‘जहिलेदेखि मैले काम सुरु गरेकी थिए, मेरो सपना थियो की म ३० वर्षको हुनु भन्दा अगाडि नै आफ्नै मेहनतमा घर किनौँ। हो केही वर्ष ढिला भयो तर मैले किने ।’
सोनाक्षी अहिले आफ्नो आमाबाबा पुनम र शत्रुघन सिन्हासँग उनीहरुको जुहुमा भएको घरमा बस्दै आएकी छिन्। उनको योजना अगाडि पनि यही घरमा बस्ने छ। उनले भनिन्, ‘मलाई मेरो बाबा आमाको साथमा रहेर बस्न राम्रो लाग्छ। अहिले नै म घर छोड्ने योजनामा छैन। यो घर किन्नु भनेको मेरो सपना पूरा गर्नु मात्रै हो र एउटा राम्रो लगानी मात्रै हो।’
पछिल्लो समय सोनाक्षी सिन्हा सलमान खानसँग चलचित्र दबंग ३ मा देखिएकी छन्। हाल उनी अजय देवगणसँग मल्टी स्टारर चलचित्र ‘भुजःद प्राइड अफ इन्डिया’ मा काम गरिरहेकी छन्।
नयाँ वर्षको आगमनसँगै बलिउडका स्टारहरुको सम्पत्ति किन्ने क्रम बढिरहेको छ। केही समय अगाडि जाह्वी कपूर र ऋतिक रोशनले मुम्बईको जुहु क्षेत्रमा घर किनेको खबर सार्वजनिक भएको थियो। यस्तै अभिनेत्री आलिया भाटले पनि बान्द्राको एक घरमा लगानी गरेकी थिइन्।

