शत्रुको सूची तयार गर्दै ट्रम्पः के छ अबकाे याेजना ?


काठमाडाैं – अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प पेट्रियोट पार्टी बनाउने योजनालाई अघि बढाउने भएका छन् । आफूलाई विरोध गर्ने रिपब्लिनकहरूलाई डुबाउने योजनाको तानाबाना पनि उनले बुनिरहेका छन् ।

ट्रम्पविरुद्ध सिनेटमा महाअभियोगको पुर्पक्ष फेब्रुअरी महिनामा शुरू गरिँदैछ । यस्तो अवस्थामा रिपब्लिकन सांसदहरूलाई दबाब दिनका लागि उनले तेस्रो दल बनाएर रिपब्लिकन पार्टीको मत काट्ने योजना समेत बनाइरहेका हुन् ।

जो बाइडन राष्ट्रपति बनेदेखि ट्रम्प मार–ए–लागोमा बसिरहेका छन् । शुक्रवार उनले एक पत्रकारलाई बताए, ‘हामी केही पक्कै गर्छौं, तर अहिल्यै हैन ।’

तर पर्दा पछाडि बसेर ट्रम्पले रिपब्लिकन सांसदहरूमध्ये शत्रुको एक सूची तयार पारेका छन् । उनले निर्वाचनमा धाँधली भएको भनी गरेका आधारहीन दाबीको विरोध गर्ने रिपब्लिकनहरूको सूची उनले तयार पारेका छन् ।

उनीहरूलाई आगामी चुनावको प्राइमरीमा चुनौती दिने तयारी गर्न उनले सहयोगीहरूलाई निर्देशन दिएका छन् । सूचीमा तल्लो सदनकी सांसद लिज चेनी छिन् । उनले ट्रम्पविरुद्ध महाअभियोग लगाउनका लागि पार्टीबाट विद्रोह गरी मत दिएकी थिइन् । सांसद टम राइसले पनि त्यसै गरेका थिए ।

जर्जियाका गभर्नर ब्रायन केम्पले राज्यमा निर्वाचन परिणामलाई चुनौती दिन नमानेकाले ट्रम्पको कालो सूचीमा उनी पनि परेका छन् । अनि अलास्काकी सिनेटर लिसा मुर्कोव्स्कीले पनि ट्रम्पविरुद्धको महाअभियोगका पक्षमा मत दिन आफू तयार रहेको बताएकीले उनी पनि सूचीमा छिन् ।

ट्रम्पका सल्लाहकारहरूले दुश्मन रिपब्लिकनहरूको विपक्षमा प्राइमरी उम्मेदवारहरू खडा गर्ने योजना बनाएका छन् । आफ्नो दलका लागि निर्वाचन अभियान सञ्चालन गर्न ट्रम्पले सात करोड डलरभन्दा बढी रकम छुट्ट्याएको स्रोतहरूले द वाशिङटन पोस्टलाई बताएका छन् ।
एजेन्सी

प्रतिक्रिया