

चितवन जान चार एसपी शक्ति केन्द्रको दौडमा, बालुवाटारले स्वीकार्दैन प्रचण्ड सिफारिस

काठमाडौं– प्रहरी प्रधान कार्यालयले चितवनको लागि प्रहरी उपरिक्षक (एसपी) छान्न सकेको छैन । एसपीको सरुवा निस्केको एक महिना पुग्न लाग्दा समेत प्रधान कार्यालयले चितवनमा प्रमुख पठाउन नसकेको हो।
बालुवाटारदेखि खुमलटार र गृहमन्त्री रामबहादुर थापा बादलको आ–आफ्नै अडानको कारण चितवनमा एसपी सरुवा रोकिएको प्रधान कार्यालय स्रोतले जनायो।
चितवनका एसपी नान्तिराज गुरुङसँगै सरुवा भएका सबै एसपीको सरुवा भईसकेको छ। तर चितवन पठाउने एसपीको टुंगो नलागेको कारण उनको एक बर्ष कार्यालय पूरा भए पनि सरुवा रोकिएको छ।
गत महिना भएको सरुवामा झापामा सानुराम भट्टराई, पर्सामा बेलबहादुर पाण्डे, मकवानपुरमा सोमेन्द्रसिंह राठौर, काभ्रेमा भूपेन्द्र खत्री, सिन्धुलीमा आभूषण तिमल्सिना, कञ्चनपुरमा उमाप्रसाद चर्तुवेदी, बारामा दिपेन्द्र शाही तथा धनुषामा प्रकाश रानाभाटलाई पठाइएको छ ।
चितवनका एसपीको अवधि पुगे पनि त्यहाँ जान चाहनेहरुबीच प्रतिस्पर्धा सँगै केही नेताले ‘एसम्यान’ खोजेपछि सरुवा रोकिएको हो।
प्रहरी एकेडेमीमा कार्यरत एसपी भूपेन्द्र खत्री, अपराध महाशाखाका एसपी ईश्वर कार्की, श्यामकृष्ण अधिकारीलगायतको प्रतिस्पर्धा तिव्र छ।
तर, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिस बालुवाटारले नस्वीकार्ने भएपछि बालुवाटारको समूह भने चितवनमा प्रचण्डले भनेको नमान्ने र परेको बेला प्रचण्ड–माधव पक्षलाई पेल्न सक्ने एसपी पठाउने योजनामा छ ।
त्यस्तो एसपी बालुवाटारले भेट्न सकेको छैन। जसको कारण अन्य जिल्लाको एसपी सरुवा भएको एक महिना भईसक्दा पनि चितवनले नयाँ एसपी नपाएको बताइन्छ।
नेकपामा बिबाद आउनु अगाडि चितवनमा प्रचण्डको सिफारिसमा एसपी सरुवा हुँदै आएको थियो । एस अगाडिको हाल अपराध महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) दिपक थापा र एसपी दानबहादुर मल्ल प्रचण्डको सिफारिसमा चितवन पुगेका थिए।
प्रचण्डको आडमा एसपी मल्लले त सरुवा भएका एक महिनासम्म कार्यालय नै नछाडी संगठनलाई नै चुनौती दिएका थिए। पछि कारवाहीको चेतावनी पत्रपछि मात्र उनले जिल्लाबाट रमाना बुझेर सरुवा भएको ठाँउ काठमाडौं बिमानस्थल गएका थिए। उनको शनिवार डोटी जिल्लामा काज सरुवा भएको छ ।
चितवन गृहमन्त्री रामबहादुर थापा बादलको गृह जिल्ला पनि हो । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री बादल आफ्ना ‘यसम्यान’ एसपीलाई चितवन पठाउने तयारीमा छन् । पछिल्लो समय चितवन जान आईजी सचिवालका एसपी रमेश थापा, आयुक्त कार्यलयका रेवती ढकाल, अपराध महाशाखाका ईश्वर कार्की र श्यामकृष्ण अधिकारीबीच पनि चर्को स्पर्धा छ।
आईजी सचिवालयका एसपी थापाले एसएसपी दिपक थापामार्फत खुमलटार र आफ्ना दाई क्यापटेन रामेश्वर थापा मार्फत बालुवाटार मिलाउन लागेका छन्। आईजी शैलेश थापा पनि एसपी थापासँग पोजेटिभ भएका कारण उनको सम्भावना बढी रहेको स्रोत बताउँछ।
थापा नेपाल प्रहरीमा व्यवसायिक प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । आफू निकटका रुपमा चिनिने एसपी ढकाललाई पठाउन प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) विश्वराज पोखरेल लागि परेका छन्।
नेपाल प्रहरीमा शक्तिशाली प्रहरी अधिकारीका रुपमा उदाएका पोखरेलले चाहे चितवनमा ढकालको सहजै सरुवा हुने आंकलन प्रहरी भित्र गरिएको छ।

