

जडीबुटी कृषकलाई एक लाख बिरुवा वितरण गरिने

भोजपुर – नाङ्गा डाँडापाखालाई हरियालीसँगै आयमूलक बनाउनका लागि एक लाख जडीबुटीको बिरुवा वितरण गरिने भएको छ । डिभिजन वन कार्यालय भोजपुरले कृषकलाई आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले नर्सरी स्थापना गरेर बिरुवा वितरण गर्न लागेको हो ।
कार्यालयले षडानन्द नगरपालिका–१३ भिरथाप्लामा दुई हजार ४५० मिटर उचाइमा करीब दुई रोपनी क्षेत्रफलमा विभिन्न जातका जडीबुटीको बिरुवा उत्पादन गरेर वितरण गर्ने तयारी गरेको हो । यहाँ उत्पादन भएका बिरुवा सामुदायिक वनका नाङ्गापाखा तथा स्थानीयवासीका निजी जमीनमा समेत विस्तार गर्ने योजना रहेको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए ।
कच्चापदार्थको अभावमा पटपटेको तेल निकाल्ने उद्योगहरु बन्द हुने अवस्थामा पुगेकाले यसको खेतीमा समेत जोड दिएको कार्यालयको भनाइ छ । ती उद्योगलाई पुग्ने कच्चापदार्थ पुग्ने गरी पटपटेको खेतीको विस्तारमा लाग्नुपर्ने आवश्यकता देखिएको प्रमुख घिमिरेले बताए ।
कार्यालयको पहलमा विभिन्न ठाउँलाई पकेट क्षेत्रका रुपमा विकास गरेर जडीबुटीको विस्तार गरिएको छ । प्रदेश हरित अभियान कार्यक्रमअन्तर्गत नर्सरी स्थापना गरेर लोडसल्ला, पाखनवेत, पटपटेलगायत एक लाख बिरुवा उत्पादन गरेर किसानलाई वितरणको तयारी गरिएको छ ।
कार्यालयले रु २० लाख लागतमा नर्सरीको स्थापना गरेको हो । यसलाई थप विस्तार तथा स्तरोन्नति गर्ने लक्ष्य रहेको कार्यालयको भनाइ छ । खेती विस्तारले कच्चापदार्थको अभावमा बन्द हुने अवस्थामा पुगेका उद्योगलाई सहजता हुने स्थानीय जडीबुटी किसान दाजुङ्बु शेर्पाले बताए ।मूल्यमा गिरावट आएपछि पछिल्लो समयमा जडीबुटीको उत्पादनमा पनि केही कमी आएको स्थानीय जडीबुटी कृषक बालकृष्ण राईले बताए । मूल्यमा घटबढ हुँदा उत्पादनमा पनि असर परेको उनको भनाइ छ ।
गत वर्ष जिल्लाबाट दुई हजार मन चिराइतो बाहिर गएको थियो तर मूल्यमा गिराबट आएपछि कृषक निरुत्साहित भएका छन्, यस वर्ष करीब एक हजार ५०० क्विन्टल हाराहारीमा मात्र उत्पादन भएको छ, सतुवाको पनि उत्पादन त्यस्तै छ, वर्षेनि घट्ने क्रममा छ, यस वर्ष १० क्विन्टल जति गाना र दुई लाख जति बिरुवाबाहिर निकासी भएको तथ्याङ्क छ ।
भोजपुरको माथिल्लो भेगमा चिराइतो, सतुवा, सेतक चिनी, शक्ति गुम्बा, पदमचाल, वन मूला, वन लसुन, टिमुर, किम्बु, भुत्केस, बुढो ओखती, लोडसल्ला, विखुम्बालगायत जडीबुटीको खेती गर्दै आएका छन् । यहाँको माथिल्लो भेग तिम्मा, किमालुङ, हेलौछा, मझौले, सुन्तलेलगायतका ठाउँमा यीबाहेकका अन्य धेरै प्रजातिका जडीबुटी पाउने भए पनि पहिचान गर्न समस्या हुने गरेकाले सरकारले यसको खोजी गर्नुपर्ने व्यवसायीको सुझाव छ ।
पकेट क्षेत्र घोषणा भएपछि यहाँ विभिन्न जातका बहुमूल्य जडीबुटीको उत्पादन भए पनि बजार मूल्य थाहा नपाउँदा उनीहरु समस्यामा परेका हुन् । जडीबुटीको बजार मूल्यको विषयमा ज्ञान नहुँदा विचौलियाले त्यसको लाभ लिने गरेको कृषकको भनाइ छ । सरकारले जडीबुटीको मूल्य तोकिदिएमा बिक्री वितरणमा सहजता हुने कृषक बताउँछन् ।

