

फेसबुक र इन्स्टाग्राम आफैले दिनेछ तस्बिरमा क्याप्सन

काठमाडौं – अब फेसबुक तथा इन्स्टाग्राममा पोस्ट भएका तस्बिरमा आफै क्याप्सन आउने भएको छ । हालै आएको नयाँ फिचरले तपाईंलाई तस्बिर विश्लेषण गरेर उपयुक्त क्याप्सन सिफारिस गर्नेछ ।
यस किसिमको सिस्टम दृष्टिविहीन प्रयोगकर्ताका लागि लक्षित गरी ल्याइएको फेसबुकले जनाएको छ । ताकि भविष्यमा ती प्रयोगकर्ताहरूले आफ्नो तस्बिर चाँडै नै फेला पार्न सकुन् । इमेज मेटाडेटामा भएको ‘अल्ट टेक्स्ट’ एउटा फिल्ड हो, जसले कुनै पनि तस्बिरलाई विस्तृत रुपमा व्याख्या गर्दछ ।
उदाहरणका लागि ‘व्यक्ति घोडासँग खेतमा उभिरहेको छ’ वा ‘कुकुर जहाजमा बसेको छ’ । यसको मद्दतबाट आखाँ देख्न नसक्ने व्यक्तिहरुले पनि तस्बिरको व्याख्या पढेर सबै कुरा कल्पना गर्न सक्छन् ।
फेसबुकले २०१६ मा आफ्नो ‘अटोमेटिक अल्ट टेक्स्ट’ सिस्टम बनाएको थियो । मसिन लर्निङको क्षेत्रमा यो लामो समयदेखि काम गरिएको परियोजना थियो । हालसम्म कम्पनीले यसमा धेरै संसोधन गरेको छ ।
यसलाई थप छिटो र विस्तृत बनाएको कम्पनीले उल्लेख गरेको छ । पछिल्लो अपडेटमा माग अनुसार थप विस्तृत व्याख्या दिने विकल्प यसमा थप भएको छ । यस प्रविधि सुरु भएयता १० गुणा थप सुधार भएको फेसबुकले जनाएको छ । हाल यसले १२ सयभन्दा धेरै वस्तुहरुलाई पहिचान गर्दछ । साथै यसको व्याख्या पनि थप विस्तृत बन्दै गइरहेको छ ।

