
किसानले पाएनन् अलैँचीको उचित मूल्य
फिदिम – महंगोमा बिक्न थालेसँगै खोल्सीको सुनको परिचय पाएको अलैँचीको मूल्यमा यो वर्ष ह्रास आएको छ। नयाँ उत्पादन बिक्री सुरु हुने यो सिजनमा गत साल अलैँचीको मूल्य फिदिममा सुख्खा प्रतिमन (४० किलो) ३८ हजार रुपियाँ रहेकोमा अहिले २८ हजारमा झरेको छ।
यो वर्ष उत्पादन बढे पनि अन्तर्राष्ट्रिय बजारमा कम माग हुँदा मूल्यमा ह्रास आएको अलैँची व्यवसायी महासंघ पाँचथर अध्यक्ष खेमनाथ अधिकारीले जानकारी दिए ।
हरेक वर्ष अलैँचीको बजार मूल्यमा उतार–चढाव आइरहने गर्दछ। गत वर्ष दशैं तिहारको सेरोफेरोमा मन (४० केजी) को ५१ हजार रुपियाँसम्म पनि पुगेको थियो । यसबाट किसान धेरै उत्साहित भए । अलैंचीको मूल्य घटेपछि किसानमा निरासा छाएको राष्ट्रिय कृषक समूह महासंघ पाँचथर अध्यक्ष गणेश पोख्रेलले बताए ।
रुस–युक्रेन बीचको द्वन्द्वले अन्तर्राष्ट्रिय बजारमा छाएको आर्थिक मन्दीले अलैँचीको माग घटेको व्यवसायी बताउँछन्। मुस्लिम बहुल क्षेत्र खाडी मुलुक लगायतका देशले विभिन्न परिकार स्वादिलो पार्न अलैँची बढी प्रयोग गर्ने हुनाले त्यस क्षेत्रमा यो धेरै बिक्री हुन्छ ।
अलैँची बढी खपत हुने देश पाकिस्तानमा बाढीको प्रकोप, अफगानिस्तानको आन्तरिक द्वन्द्वका कारणले पनि यसको माग घटेको बताइन्छ। तत्कालमा अन्तर्राष्ट्रिय बजारमा जति माग भइरहेको छ। त्यसको पूर्ति भारत र भुटानबाट भइरहेको अलैँची व्यवसायी महासंघ केन्द्रीय कार्यकारी अधिकृत अनिल ढुंगानाले बताए।
पछिल्लो समय भारत र भुटानले आफ्ना किसानलाई अनुदान दिएर अलैँची खेतीमा प्रोत्साहन गर्न थालेसँगै त्यस क्षेत्रमा उत्पादनमा धेरै मात्रामा वृद्धि हुन थालेको छ। यसको नकारात्मक असर पनि नेपाली अलैँचीमा पर्न थालेको अलैँची व्यवसायी महासंघ केन्द्रीय उपाध्यक्ष नरेन्द्र अधिकारीले बताए। अहिले नेपालको अलैँची कम मात्र बिक्री भइरहेको छ।
अहिलेसम्म अलैँची व्यापारीको अन्तर्राष्ट्रिय बजारमा पहुँच नै छैन। नेपाली व्यापारीले सिधै विश्व बजारमा लगेर बेच्न नपाउने अवस्थाले नेपाली अलैँचीले अपेक्षित मूल्य नपाउने व्यापारी गुनासो छ। नेपाली अलैँची भारतीय व्यापारीले भारतकै फलको रुपमा आफ्नै ‘ट्रेड मार्क’ मा अन्य मुलुकमा बेच्ने गर्छन्। भारतीय व्यापारीले भारत र भुटानमा उत्पादित अलैँची बिक्री गरिसकेपछि मात्रै बजार माग भए नेपालबाट माग हुन्छ।
गुणस्तरका हिसाबले नेपाली अलैँची धेरै राम्रो मानिए पनि बिक्रीका लागि भारतीय व्यापारीको मुख ताक्नु पर्ने बाध्यता चाँडै हटाउन सरकारले पहल गर्नुपर्ने आवश्यकता देखिन्छ। नेपाली अलैँची विश्व बजारमा सहजले बिक्री वितरण गर्न पाउने अवस्था बन्दा मूल्य पनि राम्रो साट्ने व्यापारी बताउछन् । यसको लागि चाँडै नेपाली अलैँचीलाई आफ्नै ‘ट्रेड मार्क’ मान्यता दिलाउन र पुर्वी नेपालको भारतीय नाका काँकरभिट्टामा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर मापन उपकरण राख्ने व्यवस्था हुनुपर्ने कार्यकारी अधिकृत अनिल ढुंगानाले बताए ।
नेपालबाट उच्च निर्यात संभावना रहेको कृषिजन्य वस्तुमा अलैँची प्राथमिकतामा रहेको छ । नेपालबाट पाँच हजार पाँच सय मेट्रिक टनसम्म अलैँची बिक्री भइरहेको र यसबाट सात अर्ब रुपियाँ आम्दानी भइरहेको अलैँची व्यवसायी महासंघले जनाएको छ । अलैँचीको पकेट क्षेत्रको रुपमा पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ र संखुवासभालाई मानिन्छ।
यसको खेती हिजोआज पूर्वबाट विस्तार हुँदै गएर पश्चिमको आछाम, डोडी, बैतडीसम्म भइरहेको तथ्याङ्कले देखाउछ। अहिले नेपालका मध्यपहाडी ४० जिल्लामा २० हजार भन्दा बढी हेक्टर क्षेत्रफलमा अलैँची खेती भइरहेको र यसमा एक लाख २५ हजार भन्दा बढी परिवार आबद्ध रहेका छन्। धेरै आम्दानी दिने देखेर यसको खेतीतर्फ आकर्षित हजारौं किसान मूल्य स्थिर नहुने समस्याले भने निरास हुने गरेका छन्।



कागजपत्र |
