मन्त्री श्रेष्ठद्वारा शताब्दी पुरुष जोशीको स्वास्थ्यबारे जानकारी


काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले वाङ्मय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीसँग भेटी उनको स्वास्थ्यलाभको कामना गरेका छन् ।

ललितपुरको बखुम्वहालस्थित जोशीको निवासमै आज पुगेर मन्त्री श्रेष्ठले नियमित हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि सरकारको तर्फबाट तत्काल आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धता जनाए ।

मन्त्री श्रेष्ठले जोशीको घर आडमै रहेको लोक साहित्य परिषद् भवनको समेत अवलोकन गरे । परिषद् भवनमा जोशीले सङ्कलन गरेका मुद्रा, टिकट, किताबलगायत सामग्री राखिएका छन् । भवनको तेस्रो तलामा रहेको चक्रसंवरको पौभाः चित्र समेत मन्त्री श्रेष्ठले अवलोकन गरे । सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

पुरातत्त्व र संस्कृति विभागका प्रथम निर्देशक जोशी मदन पुरस्कारबाट तीन पटक पुरस्कृत भइसक्नुभएको छ । बि.सं. १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मिएका जोशी उमेरले १०३ वर्ष पुगिसकेका छन् ।

प्रतिक्रिया