नेपाली चलचित्र ‘घिन्ताङ’मा एलिजासँग गौरवको जोडी


काठमाडौं – नेपाली कथानक चलचित्र ‘घिन्ताङ’मा अभिनेता गौवर पहाडी र नायिका तथा मोडल एलिजा गौतम जोडीका रुपमा प्रस्तुत हुने भएका छन् । यो चलचित्रलाई दीपक श्रेष्ठले निर्देशन गर्न लागेका हुन् । एलिजाले केही साता अगाडि मात्र यो चलचित्र साइन गरेकी थिइन् ।

चलचित्रका लागि निर्देशक श्रेष्ठले नायक विपिन कार्कीसँग पनि कुरा गरेका थिए । तर, विपिनले समय दिन नसक्ने भएपछि केहिदिन अघिमात्रै गौरवलाई चलचित्रमा अनुबन्धित गरिएको हो । यो चलचित्रलाई सामाजिक कथामा निर्माण गर्ने तयारी दिपकको छ । चलचित्रको वर्किङ टाइटल ‘घिन्ताङ’ राखिएको हो ।

एलिजाले चलचित्र ‘अनुराग’बाट यो क्षेत्रमा डेब्यू गरेकी थिइन् । दिपकले पनि नेपाली चलचित्र बजारमा हिट चलचित्र दिइसकेका छन् । नायिका गौतमले गौरवसँग काम गर्न पाउँदा आफू उत्साहित रहेको बताइन् ।

निर्देशक श्रेष्ठले ‘पापी मान्छे–२’, ‘अजम्बरी माया’, ‘जीवन साथी’, ‘आमाको माया’ लगायतका चलचित्र निर्देशन गरेका छन् । लामो समयको अन्तरालपछि ‘घिन्ताङ’निर्देशन गर्न लागेका श्रेष्ठले चलचित्रका लागि अन्य कलाकार तथा निर्माताहरुका बारेमा केहिदिनमै औपचारिक रुपमा जानकारी दिने तयारीमा रहेको बताए ।

प्रतिक्रिया