

राष्ट्रपति भण्डारीका ‘कोठी व्याख्या’

काठमाडौं– अहिले मुलुकमा राष्ट्रपति विद्यादेवी भण्डारीको व्यापक चर्चा छ। प्रतिनिधि सभा विघटन सदर गरेपछि उनको कदमको चर्चाले व्यापकता पायो।
निर्वाचन आयोगको प्रतिवेदन बुझ्दै उनले ताजा जनादेश त मुलुकका लागि अपरिहार्य भन्ने अर्को बयान गरिन्। यसले पनि उनलाई चर्चामा राख्यो।
महिला आन्दोलनबाट उदाएकी भण्डारी राष्ट्रको सबैभन्दा उँचो पदमा पुग्ने पहिलो नेपाली महिला पनि हुन्। उनी केही समय अस्वस्थ्य रहेकी थिइन्। उपचारपछि भने निको भइन्।
राजनीति र व्यवस्था भन्दा पृथक रुपमा राष्ट्रपति भण्डारीको विषयमा चर्चा गरौं। उनका हरेक तस्बिरमा देखिन्छन्– अनुहारभरी कोठी। यो एक प्रकारको समस्याका रुपमा नै बुझिन्छ।
मानिसको छालामा आउने काला वा अन्य रंगका दानालाई कोठी भनिन्छ। हामीले बुझ्ने कोठी भनेको छालालाई रङ्ग प्रदान गर्ने कोषिका एकै ठाउँमा थुप्रिएर रहने अवस्था हो । सामान्यतया शरीरको देखिने वा नदेखिने जुनसुकै भागमा कोठी आउन सक्छ । कुनै–कुनै वंशाणुगत रोगमा चाहिँ धेरै मात्रामा कोठी आउन सक्छ।
के राष्ट्रपति भण्डारीमा रहेको कोठी वंशानुगत समस्या हो? उनको स्वास्थ्यबारे जानकारी राख्ने एक जना चिकित्सक भन्छन्,‘यस विषयमा भने उपचार गर्ने कुनै चर्चा नभएका कारणले बुझ्न पाइएको छैन।’
के हो कोठी?
हाम्रो छालालाई रङ्ग उत्पादन गर्न मेलानोसाइट भन्ने कोष चाहिन्छ । यो हाम्रो छालाको माथिल्लो पत्रमा रहन्छ र एउटा रङ्ग बनाउने कोषले ५ देखि ८ वटासम्म साधारण छालाको कोषलाई रङ्ग दिन्छ । कुनै–कुनै अवस्थामा यी कोषहरू धेरै संख्यामा एकै ठाउँमा जम्मा भएर कालो दाग वा ठूलो दानाका रूपमा देखिन्छन् । यसलाई हामी कोठी भन्छौं ।
साधारणतया छालाको पत्रमा रहने हिसाबले कोठीलाई तीन भागमा वर्गीकरण गरिन्छ । कोठीका कणहरू छालाको मध्य भागमा मात्र छन् भने त्यसलाई कम्पाउन्ड निभ्स भनिन्छ तर कोठीका कणहरू छालाको माथिल्लो र मुन्तिरको पत्रको बीचमा छन् भने त्यसलाई जङ्शनल कोठी भनिन्छ ।
यदि सम्पूर्ण कणहरू छालाको मुन्तिरको पत्रबाट मात्र आएका हुन् भने त्यस कोठीलाई र्डमल कोठी भनिन्छ । कणहरू रहेको स्थानको कारणबाट कोठीहरू धेरै कालो, खैरो वा हल्का कालो, रातो देखिने हुन्छ । कुनै कोठी धेरै ठूला हुन्छन् भने कुनै स–साना टीकाजस्ता देखिन्छन् ।
त्यस्तै कुनै–कुनै कोठी जन्मजात ठूलो र रौंहरू भएको हुन्छ । यसलाई वंशाणुगत कोठी भनिन्छ । यो शरीरको जुन भागमा पनि हुन सक्छ । कसै–कसैलाई तिलको दानाजस्ता थुप्रै कोठीहरू आउन सक्छन् । यसलाई तिलकोठी वा ‘मखिया’ भन्ने गरिन्छ । यो उमेर बढ्दै गएपछि प्रस्ट देखिन थाल्छ र जाडो महिनामा अलि गाढा देखिन्छ । यो हात, मुख, जीउ सबै ठाउँमा हुन्छ।
यी व्याख्या अनुसार राष्ट्रपति भण्डारीमा देखिने कोठीको प्रकारचाहिँ मखिया हुनसक्छ।
पोतो र तिलकोठी किन आउँछ?
पोतो र तिलकोठी आउनु भनेको प्राकृतिक छालाको विभिन्न स्थानमा फरक रङ देखा पर्नु हो । यो निम्तिनुमा छालाभित्र हुने मेलानिन नामक सेलको भूमिका हुन्छ । हाम्रो छालाको माथिल्लो तहको भित्रपट्टि (इपिड्रमिसको स्ट्राटम सेल तहमा) मेलानिन सेल बसेको हुन्छ । यो छालाको सबैभन्दा माथिल्लो तहमा हुने सेल हो । छालाको रङ कालो, गोरो या अरु हुनुमा मेलानिनकै भूमिका रहन्छ ।
मेलानिन, हेमोग्लोबिन र क्यारोटेनी सेलले छालाको रङ निर्धारण गर्छ । मुख्य काम मेलानिनकै हुन्छ । मेलानिन सेल आफ्नो स्थानबाट हलचल भएर बाहिर निस्किएपछि पोतो र तिलकोठीजस्ता दाग निम्तिन्छन् ।
छालाको रङ निर्धारण गर्न नभइ नहुने तर अस्थिर हुँदा छालाको रङ नै बिगारिदिने मेलानिन गाँजर (क्यारोट) रङ र कफी रङको हुन्छ । सेतो छाला भएका व्यक्तिमा गाँजर रङको मेलानिन बढी हुन्छ भने कालो छाला भएका व्यक्तिमा कफी रङको मेलानिन बढी हुन्छ ।

