३ बुँदे सहमति कार्यान्वयनकाे माग गर्दै ‘विप्लव’ नेकपाकाे प्रदर्शन
काठमाडाैं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग भएको ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्नुपर्ने भन्दै साेही पार्टीलगायत साना कम्युनिस्ट पार्टीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादीले यसअघि नेकपा संग भएको सहमति कार्यान्वयन गर्नुपर्ने र नेकपाका नेताहरुमाथिको पक्राउ आदेश खारेज गर्नुपर्ने भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।
त्यस्तै उनीहरुले एमसिसी खारेज गर्नुपर्ने, मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता हुनुपर्ने माग गर्दै नारावाजी गरेका थिए । उनीहरुले संसदीय व्यवस्था खारेज गर्नुपर्ने जनाएका छन् । केपी ओली नेतृत्वको तत्कालीन सरकारले २०७७ फागुनमा नेकपालाई शान्तिपूर्ण राजनीतिमा लयाउन तीनबुँदे सहमति भएको थियो ।
जसमा सरकार र नेकपा देशको राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्ने, नेकपा आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्ने र सरकारले नेकपामाथिको प्रतिबन्ध हटाउने, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाइ गर्ने र सम्पूर्ण मुद्दाहरु खारेज सहमति भएको थियो।