

विशेषज्ञ वडा क्लिनिकबाट १८२ जनाले लिए उपचार सेवा

कैलाली – धनगढी उपमहानगरपालिकाले बुधवार सञ्चालन गरेको विशेषज्ञ वडा क्लिनिकअन्तर्गत धनगढी–१० घुइयाघाट स्वास्थ्य केन्द्रमा १८२ जनाले उपचार सेवा लिएका छन् ।
उपमहानगरपालिकाले सञ्चालन गरेको विशेषज्ञ वडा क्लिनिकमा जनरल फिजिसियनबाट १३० र स्त्री तथा प्रसूति रोग विशेषज्ञको सेवा ५२ जनाले उपचार सेवा लिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।
प्रयोगशाला सेवा लिने सेवाग्राहीको संख्या ११ जना र अल्ट्रासाउण्ड सेवा लिने सेवाग्राहीको संख्या ३३ रहेको छ । ईसीजी सेवा १८ जनाले लिएका छन् भने ७० वर्षमाथिका सेवाग्राही संख्या ४३ जना रहेको बताइएको छ । धनगढी उपमहानगरपालिकाले साउन १ गतेदेखि विशेषज्ञ वडा क्लिनिक सञ्चालनमा ल्याएको हो । जसअन्तर्गत बिरामीलाई वडामै निःशुल्क स्वास्थ्य सेवा प्रदान भइरहेको छ ।
उपमहानगरपालिकाका आमजनताले स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् र सबैलाई सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त होस् भन्ने उद्देश्यले वडामा विशेषज्ञ चिकित्सकसहितको वडा क्लिनिक सेवाको शुभारम्भ गरिएको नगर प्रमुख गोपाल हमालले जानकारी दिए । क्लिनिकबाट प्रत्येक महिना तालिकाअनुसार उपमहानगरपालिकाका १९ वटै वडामा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।
वडा क्लिनिक सञ्चालन गर्न सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले २५ लाख ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ भने उपमहानगरपालिका क्षेत्रका औषधि व्यवसायीबाट औषधि उपलब्ध भएको बताइएको छ ।

