

मिस्टर एण्ड मिस थारुका लागि १० जिल्लामा अडिसनको तयारी पुरा

काठमाडाैं – चौथो संस्करणको मिस्टर एण्ड मिस थारु २०२२ को अडिसनको तयारी पुरा भएको छ । आयोजक जहइन्टरटेनमेन्टले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरि अडिसनको तयारी पुरा भइसकेको जानकारी दिएको हो ।
जहइन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुरेश कुमार चौधरीले यही साउन २१ गतेदेखि सुरु हुने अडिसनको तयारी पुरा भइसकेको जानकारी दिए । प्रतियोगितामा सहभागि हुन चाहने युवायुवतीहरुले आधिकारिक वेबसाइट रजिष्ट्रेशन डट जहइन्टरटेनमेन्ट डटकममा गई आवेदन दिन सकिने छ भने खल्ती एप मार्फत पनि आवेदन दिन सकिने छ ।
खल्ती एपबाट आवेदन दिँदा १० प्रतिशत क्यासव्याक समेत सुविधा पाउने छन् । आवेदन शुल्क रु.६०० तोकिएको छ । थारु समुदायको बाक्लो बसोबास रहेको देशका मुख्य–मुख्य शहरहरुमा अडिसन सुरु हुँदैछ ।
आयोजकका अनुसार साउन २१ गते (शनिबार) सुनसरीको झुम्का, पर्साको वीरगंज, चितवनको भरतपुर र बाँकेको नेपालगञ्ज, साउन २४ गते (मंगलबार) मोरङको विराटनगर, सिरहाको लहान र कैलालीको टिकापुर, साउन २८ गते (शनिबार) काठमाडौं, दाङ र बुटवलमा अडिसन हुँदैछ । अडिसनका लागि निर्णायकहरु तय गरिसकिएको इभेन्ट निर्देशक रुपेश चौधरीले जानकारी दिए ।
प्रारम्भिक चरणमै उत्कृष्ट प्रतियोगी छनोट गर्नका लागि आयोजकले तयारी व्यापक पारेको छ । अडिसनबाट छनौट भएकाहरुलाई भदौंमा अभिमुखीकरणमा सहभागि गराइने छ । त्यसलगत्तै प्रतियोगिताको ग्राण्ड फिनाले हुनेछ । प्रतियोगिताका विजेताले नगद, क्राउनलगायतका उपहार पाउने छन् ।

