

अमेरिकी र चिनियाँ हतियार फेला परेपछि बेगबहादुर पक्राउ

धादिङ – प्रहरीले धादिङबाट सुनजस्तो पहेँलो धातु, अमेरिकी डलरजस्ता देखिने नोटसहित मंगलबार पक्राउ गरेका बेगबहादुर तामाङमाथि थप अनुसन्धान हुँदा हतियारसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार प्रहरी निरीक्षकको कमाण्डमा मंगलबार खटिएको टोलीले नीलकण्ठ नगरपालिका–३, धादिङबेसी थोपल खोलास्थित लपाङफेदीबाट आउँदै गरेको ग१ज ६७५३ नम्बरको गाडीलाई विशेष सूचनाको आधारमा चेकजाँच गरेको थियो ।
सो क्रममा उक्त गाडीको पछाडी सीटमा बसेका धादिङ, खनियावास गाउँपालिका–४ बस्ने बेगबहादुर तामाङ र शोभा तामाङका साथबाट बिस्कुट आकारको सुनजस्तो देखिने पहेँलो धातु एक थान र अमेरिकी डलरजस्तो देखिने ५० दरको नोट ९७ थान, १०० दलको १६३ थान बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक रञ्जन अवाले जनाएका छन् ।
बेगबहादुर शंकास्पद रहेको आशंकामा थप अनुसन्धान अघि बढाएको प्रहरीले बुधबार उनको घरमा खानतलासी गर्दा ‘मेड इन युएसए’ लेखिएको एउटा र ‘मेड इन चाइना’ लेखिएको एउटा पेस्तोल, ती पेस्तोलमा प्रयोग हुने २० राउण्ड गोली, कटुवा पेस्तोल एक थान, सुनजस्तो देखिने बिस्कुट आकारका पहेँलो धातु एक किलो लेखिएको एउटा र ५०० ग्राम लेखिएको ४ वटा बरामद भएको प्रहरीले जनाएको छ ।

