सीआईबीको अर्को एक्शनः तीन करोड बढी ठग्नेहरूलाई हिरासतको बास


काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले साढे दुई करोड बढी बैंकिङ कसुरको ठगी गर्ने फरार अभियुक्तलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ।

सीआईबीका अनुसार प्रमोद ढुंगेल, दण्डराज ढकाल र ब्रम्हनारायण चौधरीको जाहेरीका आधारमा तीन वटा मुद्दामा उच्च अदालत पाटनले २५ पुस ०७६ मा चितवन भरतपुर–८ का रानीबारी अटो प्रालि सञ्चालक रामबहादुर अधिकारीलाई बैंकिङ कसुरमा ५५ दिन कैदको फैसलासहित २ करोड ३२ लाख जरिवाना तोकेको थियो। तर अधिकारी फरार रहेका थिए। उनलाई आइतबार पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ।

२ करोड १६ लाख २४ हजार, ६ लाख ५० हजार र ९ लाख ५० हजार गरी तीनवटा मुद्दाको जरिवाना अधिकारीले तिर्नुपर्ने थियो।

यसैगरी, बुना महत र गीतादेवी अधिकारीको जाहेरीका आधारमा दुईवटा बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले नै गत ३२ जेठमा फैसला गरी काठमाडौं बाडभन्ज्याङ–४ का सुवास थापालाई १७ दिन थुनामा राखी ५९ लाख बढी जरिवाना तोकेको थियो। फरार थापालाई समेत पक्राउ गरी कारबाही अगाडि बढाइएको छ।

यसैगरी, मीनाकुमारी अंगाईको जाहेरीका आधारमा उच्च अदालत पाटनले नै २४ असार ०७५ मा गोरखा गण्डकी गाउँपालिका–२ का विष्णु अंगाईलाई १० लाख जरिवाना तोकेको थियो। फरार विष्णुलाई पनि पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

प्रतिक्रिया