

प्रचण्डलाई प्रहरीको लाठी खाएर टाउको फुटाउने ‘रहर’

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई लाठी खाएर टाउको फुटाउने रहर भएको बताएका छन्।
आइतबार अनेरास्ववियुले राजधानीमा गरेको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै जनआन्दोलनपूर्व गिरीजाप्रसाद कोइरालाले टाउकोमा लाठी खाएको जस्तै आफूलाई पनि फुटाउन मन भएको बताएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिगमनको कदमविरुद्ध आन्दोलनमा आउने र प्रहरीको लाठी खान मन भएको बताएका उनले युवा विद्यार्थीको आन्दोलनका क्रममा ०३६ सालमा चितवनमा प्रहरीको ढुंगा खाएको पनि स्मरण गरेका थिए।
तुरुन्त आन्दोलन गर्नुपर्ने, आँधीबेहरी ल्याउन आवश्यक रहेको बताएका उनले अब शाकाहारी आन्दोलनले नहुने बताए। प्रधानमन्त्री ओलीको आलोचनामा लामो समय खर्च गरेका उनले भने,‘हामी अग्रगमनको बाटो अगाडि बढ्न खोजिरहेका छौं, ओली प्रतिक्रान्तिमा लागे, उनी गणतन्त्र आउँदा रुँदैथिए, बयलगाडामै छन्।’

