प्रधानमन्त्रीले गरे गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्रको उद्घाटन

दैनिक तीन कराेड २४ लाख लिटर बागमितकाे फाेहाेर पानी प्रशाेधन हुने


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको गुहेश्वरीस्थित बागमति नदी किनारामा निर्माण गरिएको ‘गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्रको आइतबार विशेष समारोहबीच उद्घाटन गरेका छन् ।

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५३ सालमा शिलान्यास गरेको गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्रको आज कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गर्नु भएको हो ।

काठमाडौं उपत्यकाको बढ्दो शहरीकरणको कारण पवित्र बागमती नदी र यसका सहायक नदीहरुलाई उपत्यका भित्र स्वच्छ, सफा, हराभरा र जीवन्त राख्ने उदेश्यले खानेपानी मन्त्रालय अन्तरगतको काठमाडौ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको अत्याधुनिक सो फोहोरपानी प्रशोधन केन्द्रबाट दैनिक तीन करोड २४ लाख लिटर फोहोर पानी प्रशोधन हुन्छ ।

सो प्रशोधन केन्द्रको स्विच अन गरेर उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले हिन्दुहरुको आराध्यदेव पशुपतिनाथका भक्तजनहरुले शुद्ध बागमतिको शुद्ध पानी प्रयोग गर्न पाउने आशा व्यक्त गरे । उनले यस्ता प्रशोधन केन्द्रहरु देशका अन्य सहरहरुमा पनि स्थापना गर्नु पर्ने भन्दै यसले नदीलाई स्वच्छ बनाउने र वातावरणमा नकारात्मक असर नपर्ने बताए ।

खानेपानी उमाकान्त चौधरीले प्रशोधनसहितको फोहोरपानीबाट लाभान्वित जनसंख्या २० प्रतिशत मात्र भएको भन्दै दीगो विकास लक्ष्य हासिल गर्न आगामी सन् २०३० सम्म ५० प्रतिशत पुर्याउने लक्ष्य मन्त्रालयले लिएको बताए ।

समग्र काठमाडौं उपत्यका भित्र बागमती र यसका सहायक नदीहरुमा अध्यधिक प्रदुषण र नदी अतिक्रमण हुँदा जलचर र बनस्पतिहरु नासिँदै गएर काठमाडौं उपत्यकाको सभ्यता माथि चुनौति थपिएकाले त्यसको समाधानका लागि आयोजनाले उपत्यकाका अन्य स्थानमा पनि प्रशोधन केन्द्र धमाधम निर्माण गरिरहेको मन्त्री चौधरीले बताए ।

‘यो प्रशोधन केन्द्रले चावहिल, गोकर्ण, मित्रपार्क, बौद्ध, गौरीघाट, जोरपाटी, गोठाटार लगायत नौं सय ९५ हेक्टर क्षेत्रमा रहेकक करीब तीन लाख वासिन्दालाई सेवा पुग्छ’, मन्त्री चौधरीले भने, ‘बागमती लगायत अन्य सहायक नदीहरुलाई स्वच्छ, राख्नका लागि धोविघाट, बालकुमारी, सल्लाघारी, गोकर्ण तथा हनुमानघाटमा प्रशोधन केन्द्र निर्माण शुरु गरिएको र छिटो सम्पन्न गर्न काम भइरहेको छ ।’

मन्त्री चौधरीले आफू खानेपानी मन्त्री भए पछि तराई मधेश स्यालो टुवेल स्वच्छता विशेष कार्यक्रम संचालनमा आएको, राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड निर्देशिका २०७७ मन्त्रीपरिषदबाट स्वीकृत भएको, खानेपानी तथा सरसफाई विधेयक २०७९ संसदको दुवै सदनबाट पारित भएको र राष्ट्रिय खानेपानी सरसफाई तथा स्वच्छता नीति २०७९ अन्तिम अवस्थामा पुगेको बताए ।

एडीबीको सहयोगमा निर्मित सो निर्माण भारतको भीए टेक वाबाग, र परामर्शदाता दोहा इन्जिनियरिङ कम्पनी कोरियाले गरेका हुन् ।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राजधानी काठमाडौंमा बर्षातको पानी प्रशोधन नभए ढलमा मिसिन जाँदा समस्या विकराल बन्दै गएको भन्दै त्यसको समाधानका लागि महानगरले खानेपानी मन्त्रालयसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

पूर्वरक्षामन्त्री एबम् काठमाडौंका सांसद भिमसेनदास प्रधानले काठमाडौंमा ढल र फोहोरको समस्याको दीर्घकालिन समाधान खोज्नु पर्ने भन्दै फोहोर पानी प्रशोधन केन्द्र उपत्यकाका अन्य भागमा चाँडो बनाउनु पर्नेमा जोड दिए ।

खानेपानी मन्त्रालयका सचिव मणीराम गेलाल र आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले फोहोरपानी प्रशोधनबाट दैनिक आठ मेट्रिक टन ठोस फोहोरलाई मलको रुपमा प्रयोग गर्न र विद्युत उत्पादन गर्न सकिने जानकारी दिए ।

प्रतिक्रिया