टेलिकमको सेवाहरूमा सस्तो मूल्यकाे ‘समर अफर’


काठमाडाैं – नेपाल टेलिकमले आज (साउन १ गतेदेखि) विभिन्न सेवाहरूको महसुलमा नयाँ दर लागू गरेको छ । सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई आजदेखि लागु हुने गरी १० प्रतिशत गर्दा हुने नयाँ महसुल दर कायम गरिएको टेलिकमले जनाएको छ ।

कम्पनीले उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दर अन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायतका सेवाको महसुलमा समेत लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्ने छ ।

यसैगरी साउन १ देखि समर अफर अन्तर्गत विभिन्न आकर्षक प्याकेजहरू उपलब्ध गराइएको टेलिकमले जनाएको छ । पहिले उपलब्ध सबै अफरहरूलाई अब उही मूल्यमा थप डाटा तथा भ्वाइस मिनेट अफरका साथ उपलब्ध गराइएको छ ।

त्यसैगरी कतिपय अफरलाई परिमार्जन गरिएको छ भने केही नयाँ अफर समेत थप गरिएका छन् । यस अनुसार केही अफरहरूमा उही मूल्यमा पहिले भन्दा ४ गुणासम्म बढी डाटा भोल्युम थप भएका छन् ।

यस बाहेकका डाटा प्याकेज, भ्वाइस प्याकेज, एक दिने तथा एक मासिक प्याकेजहरूमा समेत सोही अनुसारको रिसोर्स थप गरी आकर्षक बनाइएको छ । उदाहरणको लागि सीयूजी १००० मा १० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ४० जीबी प्रदान गरिएको छ ।

त्यस्तै सीयूजी १५०० मा २० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ८० जीबी प्रदान गरिएको छ । यसैगरी पोस्टपेड, प्रिपेडलगायतका अन्य विभिन्न अफरहरूमा पनि थप रिसोर्स प्रदान गरिएको टेलिकमले जनाएको छ । समर अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले १४१५ डायल गर्नुपर्ने छ ।

प्रतिक्रिया