नेपाल टेलिकमले ई–सिम उपलब्ध गराउने


काठमाडौं – नेपाल टेलिकमले निकट भविष्यमै ई-सिम उपलब्ध गराउने भएको छ । यस सम्बन्धीमा गत आइतबार नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी युके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दबीच सम्झौता सम्पन्न भएको छ।

सम्झौता अनुसार मोन्टी युके ग्लोबलले नेपाल टेलिकमका ग्राहकलाई ई-सिम सेवा उपलब्ध गराउनका लागि आवश्यक प्लेटफर्म उपलब्ध गराउने भएको छ । सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत पहाडीले नेपाल टेलिकमले नयाँ नयाँ प्रविधि भित्र्याउने क्रममा ई–सिम समेत उपलब्ध गराउने भएको र यसका लागि आवश्यक कार्य छिट्टै नै प्रारम्भ हुने विश्वास व्यक्त गरे ।

अल्टिमेट होराइजन टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दले ई–सिमका लागि आवश्यक सम्पूर्ण प्राविधिक कार्य समयमै सम्पन्न गरी कम्पनीलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो ।

ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता नपर्ने बताइएको छ ।यसका लागि ई–सिम सपोर्ट गर्ने ह्यान्डसेट आवश्यक हुन्छ । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिने व्यवस्था छ ।

ई–सिम प्रयोगमा आए पश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरूमा समेत प्रयोग गर्न सकिने छ ।

हालका सबै प्रयोगकर्ताले समेत ई–सिम प्रयोग गर्न सक्ने छन् । नयाँ प्रयोगकर्ताले समेत सहज तरिकाले ई–सिम लिन सकिने भएको छ ।

प्रतिक्रिया