उपेन्द्र यादवले राजकिशोर समूहलाई ओलीको पार्टीमा जान दिए धम्की


काठमाडौं– मधेसमा प्रायोजित रुपमा चिनियाँ हस्तक्षेप भित्राएका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेता राजकिशोर यादव समूहलाई प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीमा जान धम्क्याएका छन्।

जसपाले संसद् विघटनविरुद्ध सिरहामा गर्न लागेको सभामा सहभागी हुने नेताको नाम मर्यादाक्रम मिचेर राखेपछि अध्यक्ष यादवसँग राजकिशोर पक्षधर नेताले गुनासो गर्दा यस्तो धम्की दिएका हुन्।

सिरहामा हुने प्रदर्शन तथा सभामा रेणुकुमारी यादव, अनिल झा, विजय यादव र राजकिशोर यादव सहभागी हुने उल्लेख छ । तत्कालिन राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलमा रहेका राजकिशोरलाई मर्यादाक्रम मिचेर तेस्रोमा राखिएको थियो। सोही विषयमा कुराकानी गर्ने राजाराम यादवलाई अध्यक्ष उपेन्द्र यादवले चित्त नबुझे प्रधानमन्त्री ओलीको पार्टीमा जान धम्की दिएका हुन्।

राजाराम र उपेन्द्रको चर्काचर्की भएको अडियो पनि सार्वजनिक भइसकेको छ। सो क्रममा मर्यादाक्रम नसच्याए कार्यक्रममा राजकिशोरको समूह सहभागी नहुने बरु कालो झन्डा देखाउने चेतावनी राजारामले दिएपछि उपेन्द्रले त्यस्तो धम्की दिएका हुन्।

धम्की पाएपछि राजारामले भने,‘तपाई डिक्टेटरशीप चलाउनुहुन्छ । अध्यक्ष भएर के भयो? तपाई आउनुस् सिरहा हामी पार्टीकै मान्छे कालो झण्डा देखाउँछौं।’

स्रोतका अनुसार यहि प्रकरणले जसपा विभाजनको यात्रामा लागेको छ। प्रधानमन्त्री ओलीकै पार्टीमा जानका लागि राजकिशोरलगायतको समूहको अनौपचारिक कुराकानी पनि भइरहेको स्रोतले जनाएको छ।

प्रतिक्रिया